काठमाडौँ, २६ मङ्सिर । किराँत समुदायको उधौली पर्व र नेवार समुदायको योमरी पुन्ही (ज्यापु दिवस) मा (आज) बिहीबार सार्वजनिक बिदा नहुने सरकारले स्पष्ट जानाएको छ ।
आजको सार्वजनिक बिदा बारे अन्योल भइरहेको बेला, गृह मन्त्रालयका सूचना अधिकारी उमाकान्त अधिकारीले बिदा नहुने जानाएका छन् । अधिकारीका अनुसार आज उधौली पर्व मनाउने किराँत समुदाय र योमरी पुन्ही मनाउने नेवार समुदायका कर्मचारीलाई भने बिदा दिइएको छ ।
उधौली पर्व मनाइने प्रदेश–१ सहित केही पालिकाहरूले पनि आज बिदा दिएका छन् । गृह मन्त्रालयले विसं २०७५ चैतमै जारी गरेको नयाँ वर्षका बिदासम्बन्धी सूचनामा बिहीबार किराँत समुदाय र नेवार समुदायलाई मात्र सार्वजनिक बिदा हुने उल्लेख गरेको छ ।