काठमाडौँ, २५ मङ्सिर । चिट्ठा तथा पार्सलको प्रलोभन देखाएर झन्डै १५ करोड रुपैयाँ ठगी गरेको आरोपमा तीन जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा रेस्टुरेन्ट व्यवसायीसमेत छन् ।
साइबर, ह्वाट्स एप, इमो, फेसबुक लगायतका सामाजिक सञ्जाल प्रयोग गरी चिट्ठा परेको, पार्सल आएको भन्दै प्रलोभन देखाउने र ठगी गर्ने गरेको आरोपमा दोलखाका रमेश खड्का, नवलपरासीका विश्वेश्वरप्रसाद तिवारी र सन्दीप कलवार पक्राउ परेका हुन् ।
महानगरीय प्रहरी अपराध महाशाखाकाअनुसार पक्राउ परेकामध्ये खड्का रेस्टुरेन्ट व्यवसायी हुन् ।उनीहरूले नाइजेरियन नागरिक पिटर हेर्मन र बेलायती स्मिथ मोरिसको योजनामा काम गरेका थिए । पिटर र स्मिथले नेपालका ठगीका लागि मात्र ४० भन्दा बढी एजेन्ट परिचालन गरेको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ ।
उनीहरूले ठगी गरेको रकमको १५ देखि २० प्रतिशत कमिसन राखेर बाँकी रकम भारतमा पठाउँथे । हालसम्म १४ करोड ६९ लाख ९१ हजार शंकास्पद काराबार देखिएको र उनीहरूले रकम कारोबार गर्न प्रयोग गरेको बैंकहरु समेत ह्याक भएको हुनसक्ने प्रहरी उपरीक्षक ईश्वर कार्कीले बताए ।
उनकाअनुसार अहिलेसम्म १५ जना पीडित प्रहरीको सम्पर्कमा आएका छन् । अरू पनि यसरी ठगिएको भए सम्पर्कमा आउन प्रहरीले आग्रह गरेको छ