नेपाल भ्रमण वर्ष–२०२० सफल बनाउन पर्यटनमन्त्री र वायुसेवा सञ्चालकबिच छलफल


काठमाडौँ, २३ मङ्सिर /  वायु सेवा सञ्चालकहरूले नेपाल भ्रमण वर्ष–२०२० सफल बनाउन सक्रिय सहयोगको प्रतिबद्धता जनाएका छन् । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराईले नेपाल भ्रमण वर्ष–२०२० लाई सफल बनाउन गरेको सहयोगको आह्वानप्रति प्रतिबद्धता जनाउदैं वायु सेवा सञ्चालकहरूले सहयोग र सक्रिय सहभागिताको प्रतिबद्धता जनाएका हुन् ।

                                                                            ( तस्बिर : वायुसेवा सञ्चालक सङ्घ, नेपाल र माननीय मन्त्रीज्यूको छलफल )

सोमबार सिंहदरबार स्थित संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयमा वायु सेवा सञ्चालकहरूका सङ्गठन ‘वायु सेवा सञ्चालक सङ्घ, नेपाल’ का पदाधिकारीहरूसँग भएको छलफलमा वायुसेवा सञ्चालकहरूले आफ्ना सरोकार र समस्या समेत राख्दै सहयोग र सहभागिताको प्रतिबद्धता जनाएका थिए ।

छलफलमा मन्त्री भट्टराईले नेपाल भ्रमण वर्ष–२०२० को तयारीको विषयमा जानकारी दिँदै यसलाई सफल बनाउन वायुसेवा सञ्चालकहरूको तर्फबाट हुनुपर्ने सहयोग र मन्त्रालयका अपेक्षा बारेमा धारणा राखेका थियो । मन्त्री भट्टराईले वायुसेवा सञ्चालकहरूलाई नेपाल भ्रमण वर्ष–२०२० को सन्दर्भमा विशेष छुट, प्याकेज लगायतका कार्यक्रम बनाउन आग्रह गरेका छन् । यसै गरी नेपाल भ्रमण वर्ष–२०२० को उद्घाटनमा ‘एयर सो’ लगायतका सृजनात्मक सहयोग गर्नका लागि अनुरोध गरेका छन् ।

 

वायुसेवा सञ्चालक सङ्घ, नेपालका अध्यक्ष क्याप्टेन रामेश्वर थापाले नेपाल भ्रमण वर्ष–२०२० लाई सफल बनाउन वायु सेवा सञ्चालकहरू सक्रिय भएर सहयोग गर्न प्रतिबद्धता जनाएका छन् । मन्त्री भट्टराईले सङ्घको तर्फबाट वायुसेवाहरूको समस्या र समाधानको विषयमा सुझाव समेत राखेका थियो । नेपाल भ्रमण वर्ष–२०२०को अवधिभर निषेधित क्षेत्रमा हेलिकप्टर कम्पनीहरूलाई निर्बाध सेवा सञ्चालन गर्न अनुमति दिनुपर्ने मन्त्री भट्टराईको माग रहेको छ ।

यसै गरी उनले काठमाडौँदेखि रामेछापसम्मका बाटो स्त्तोरन्नतीको लागि अनुरोध गरेका छन् । छलफलमा सङ्घका सदस्य निमानुरु शेर्पा, हेली एभरेस्ट प्रा.लिका योगराज कँडेल शर्मा लगायतले नेपाल भ्रमण वर्ष–२०२० लाई सफल बनाउन वायु सेवा कम्पनीहरूको सहयोग रहने बताएका छन् ।

 

विदेशी विशिष्ट व्यक्तित्व र सेलीब्रेटीहरुलाई छुट दिने विषयमा पनि छलफल भएको थियो । यसको विषयमा ठोस कार्ययोजना तयार पार्नका लागि नेपाल भ्रमण वर्ष–२०२०को सचिवालय, पर्यटन बोर्ड र वायु सेवा सञ्चालक सङ्घ, नेपाल रहेको समिति पनि बनाइएको छ ।

छलफलमा मन्त्रालयका सचिव केदारबहादुर अधिकारी, नेपाल पर्यटन बोर्डका सिइओ दीपकराज जोशी, नेपाल भ्रमण वर्ष–२०२०को सचिवालयका सदस्य सचिव बच्चुनारायण श्रेष्ठ लगायत सहभागी थिए ।

पछिल्लो एक साता यता मन्त्री भट्टराईले नेपाल भ्रमण वर्ष–२०२०को विषयमा छलफललाई तीव्र बनाएका छन् । मन्त्री भट्टराईले १८ मङ्सिर २०७६ मा नेपालस्थित ३१ देशका राजदूत र पाँच वटा वैदेशिक साझेदार संस्थाका प्रमुखहरूसँग नेपाल भ्रमण वर्ष–२०२०को विषयमा छलफल गरेका थिए । उनले १९ मङ्सिर २०७६ मा राजनीतिक दलका प्रमुख र राजनीतिक दल निकट जनसंगठनका अध्यक्षहरूसँग छलफलको आयोजना रहेको जनाएका छन् ।

प्रतिक्रिया दिनुहोस्