मिर्गौलाका बिरामी सरस्वती गुरुङले नयाँ जीवन पाइन : परिवारमा हाँसो फर्कियो


अर्जुन कुलुङ राई-

बेलबारी, २१ मङ्सिर / बेलबारी नगरपालिका वाड ४ निवासी सरस्वती गुरुङ बचाउ अभियान सफल भएको छ । करिब २ वर्ष देखी मिर्गौलाको बिरामीबाट मृत्युसँगै लड्दै गरेकी सरस्वतीको सफल शल्यक्रिया भएको हो ।

सरस्वती गुरुङ बचाउ अभियान समितिले शनिवार बेलबारी १ स्थित तमु बुद्ध गुम्बामा पत्रकार सम्मेलन गर्दै मिर्गौला प्रत्यारोपण गरेर सरस्वतीलाई बचाउन सफल भएको जनाएका छन् । सरस्वतीको दुवै मिर्गौलाले काम गर्न छाडे पछि डक्टरको सल्ला अनुसार प्रत्यारोपण गरिएको हो ।

आर्थिक अवस्था कमजोर भएका गुरुङ परिवारले सबैलाई आर्थिक सहयोगको अपिल गरेका थिए । गुरुङ परिवारले गरेको अपिल अनुसार स्वदेश र विदेश सबै ठाउँबाट सहयोग भएको थियो । सोही आर्थिक सहयोगले सरस्वतीको उपचार गर्न सम्भव भएको छ ।

सरस्वतीकी श्रीमान् मनबहादुर गुरुङका अनुसार उपचारको लागि गाडी, जग्गा सबै बेची सकेका छन् । मनबहादुरले ड्राइभिङ पेसा गरेर घर खर्च धानी रहेका थिए । तर अहिले त्यो गाडी पनि छैन । ऋणको पोको अझै खुस्किसकेको छैन । तर पनि श्रीमतीले नयाँ जीवन प्राप्त गरेकोमा मनबहादुर धेरै नै खुसी व्यक्त गर्छन् ।

सम्मेलनमा बोल्दै मनबहादुरले सरस्वती गुरुङ बचाउ अभियान समिति, आर्थिक सहयोग गर्ने व्यक्ति तथा सबै संघसंस्था साथै सबै सञ्चारकर्मीहरुलाई धन्यवाद व्यक्त गरेका छन् । उनले भने, ‘मेरो कलिलो छोरालाई टुहुरो हुनबाट बचाउनु भयो, सबैलाई धेरै धन्यवाद दिन चाहन्छु ।’

 

सरस्वती बचाउ अभियानमा रु.३८ लाख ७७ हजार १ सय ७३ रुपैयाँ सङ्कलन भएको छ भने रु.३८ लाख ७० हजार ३ सय ४५ उपचारमा खर्च भएको सरस्वती बचाउ अभियान समितिले जनाएको छ । समितिका अनुसार रु.६ हजार २८ रुपैयाँ रकम बचेको छ ।

सरस्वती बचाउ अभियानका अध्यक्ष मनकुमार गुरुङले सरस्वतीको दीर्घ जीवनको कामना गर्दै एक वर्ष अगाडिबाट सुरु गरेको सरस्वती बचाउ अभियान सफलता पूर्वक सम्पन्न भएको बताएका छन् । अध्यक्ष गुरुङले सरस्वती गुरुङलाई बचाउन देश विदेशबाट सहयोग गर्ने सम्पूर्णलाई धन्यवाद व्यक्त गरेका छन् । उनले भने, ‘तपाईँ हाम्रो सानो सहयोगले सरस्वतीको जीवनलाई बचाउन सक्यौ ।’ अध्यक्ष गुरुङले सरस्वती बचाउ अभियान समिति विगठन भएको पनि औपचारिक घोषणा गरेका छन् ।

जीवनमा जस्तो सुकै सङ्कट आइपरेता पनि कहिले हरेस नखानु र मृत्युसँग पनि लड्न सकिन्छ भन्ने गुरुङ परिवारले एक उदाहरण दिएका छन् । सरस्वती बचाउन अभियानले पनि सरस्वातिलाई बचाएर समाजमा मानवताको एउटा बलियो उदाहरण प्रस्तुत गरेको छ ।

प्रतिक्रिया दिनुहोस्