काठमाडौँ । रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीपछि बेपत्ता भएका सर्लाहीका शिक्षक द्वारिकाप्रसाद दंगालको परिवारको आर्थिक भविष्य सुरक्षित गर्न राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की सांसद नीतिमा भण्डारीले सरकारसँग विशेष व्यवस्था गर्न माग गरेकी छन् ।
प्रतिनिधि सभाको मंगलबारको बैठकमा बोल्दै सांसद भण्डारीले सर्लाहीको हरिपुर नगरपालिका-७, चिताइनस्थित श्री लक्ष्मीनाथ जनता आधारभूत विद्यालयमा कार्यरत शिक्षक दंगाल भोटेकोशी बाढीपछि बेपत्ता भएको र हालसम्म उहाँको अवस्थाबारे कुनै जानकारी प्राप्त हुन नसकेको बताइन् ।
दंगाल परिवारको मुख्य आम्दानीको आधार नै उहाँको शिक्षण पेसा रहेको उल्लेख गर्दै सांसद भण्डारीले परिवारका लागि अहिले आर्थिक संकट थपिएको बताइन् । परिवारको मुख्य आयस्रोत रहेका व्यक्ति लामो समयदेखि सम्पर्कविहीन भएपछि श्रीमतीसहित परिवारका सदस्यको दैनिक जीवनयापनमै कठिनाइ उत्पन्न भएको उनको भनाइ थियो ।
सांसद भण्डारीका अनुसार दंगालकी श्रीमती मन्दिरा अधिकारी दंगाल स्थानीय निजी विद्यालयमा अध्यापनरत छिन् । त्यसैले प्रचलित कानुन र आवश्यक प्रक्रिया पूरा गरी दंगालको रिक्त शिक्षक पदमा उनकी श्रीमतीलाई नियुक्त गर्ने विशेष व्यवस्था गर्न उनले सरकारसँग आग्रह गरेकी हुन् ।
‘द्वारिकाप्रसाद दंगाल बेपत्ता भएपछि रिक्त भएको शिक्षक पदमा प्रचलित कानुन र आवश्यक प्रक्रिया पूरा गरी उहाँकी श्रीमतीलाई नियुक्त गर्ने विशेष व्यवस्था गरियोस्,’ सांसद भण्डारीले प्रतिनिधि सभा बैठकमा भनिन् ।
उनले यस्तो व्यवस्था केवल एउटा परिवारलाई रोजगारी दिने विषय मात्र नभई विपत्तिमा परेका परिवारप्रति राज्यको जिम्मेवारी र संवेदनशीलता देखाउने माध्यम बन्न सक्ने बताइन् ।
‘बेपत्ता तथा मृतकका परिवारका योग्य सदस्यलाई रोजगारीको अवसर र सामाजिक सुरक्षाको सुनिश्चितता गर्ने विशेष व्यवस्था गर्न सकिन्छ,’ उनले भनिन्, ‘यसको सुरुआत दंगाल परिवारबाटै गरियोस् ।’


