लेटाङ । भोटेकोशी, त्रिशूलीलगायतका नदीमा आएको विनाशकारी बाढीबाट रसुवा, धादिङ, नुवाकोटलगायतका जिल्लामा भएको ठुलो जनधनको क्षतिप्रति मोरङको लेटाङ नगरपालिकाले गहिरो दुःख व्यक्त गर्दै बाढीपीडितको उद्धार, राहत तथा पुनः स्थापनाका लागि २५ लाख ६७ हजार ३ सय ८५ रुपैयाँ आर्थिक सहयोग गर्ने निर्णय गरेको छ ।
लेटाङ नगरपालिकाले २०८३ साल भदौ १० गते आएको विनाशकारी बाढीका कारण ज्यान गुमाएका नागरिकप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै शोकसन्तप्त परिवारजनप्रति समवेदना व्यक्त गरेको छ । नगरपालिकाले बाढीका कारण प्रभावित भएका तथा अझै सम्पर्कविहीन रहेका नागरिकको खोजी तथा उद्धार कार्यलाई तीव्रता दिन सम्बन्धित निकायसँग आग्रहसमेत गरेको छ ।
नगरपालिकाका अनुसार विपद्का कारण घाइते भएकाहरूको शीघ्र स्वास्थ्य लाभको कामना गर्दै प्रभावित परिवारलाई आवश्यक राहत तथा सहयोग उपलब्ध गराउन स्थानीय सरकार, नागरिक समाज, निजी क्षेत्र तथा सर्वसाधारण सबैलाई आ-आफ्नो स्थानबाट सहयोग गर्न अपिल गरिएको छ । बाढीबाट प्रभावित नागरिकको उद्धार, राहत र पुनः स्थापनामा सहयोग पुर्याउने उद्देश्यले लेटाङ नगरपालिकाका जनप्रतिनिधि, कर्मचारी तथा सामुदायिक विद्यालयका शिक्षक र कर्मचारीबाट रकम संकलन गरी प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गर्ने निर्णय नगर कार्यपालिकाले गरेको हो ।
नगरपालिकाका जनप्रतिनिधिहरूको तर्फबाट १ लाख ४९ हजार १ सय रुपैयाँ, कर्मचारीहरूको तर्फबाट ७ लाख ११ हजार ५ सय ५२ रुपैयाँ तथा सामुदायिक विद्यालयका शिक्षक तथा कर्मचारीहरूको तर्फबाट १७ लाख ६ हजार ७ सय ३३ रुपैयाँ सहयोग उपलब्ध गराइने भएको छ । तीनवटै क्षेत्रबाट प्राप्त हुने रकम जोड्दा प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा २५ लाख ६७ हजार ३ सय ८५ रुपैयाँ जम्मा हुनेछ । विपद्को समयमा राज्यका विभिन्न निकाय तथा स्थानीय तहबाट भइरहेको उद्धार र राहत प्रयासमा सहयोग पुर्याउने उद्देश्यले नगरपालिकाले उक्त रकम उपलब्ध गराउने निर्णय गरेको जनाएको छ ।
नगर प्रमुख भूपेन्द्रकुमार लावतीद्वारा हस्ताक्षरित प्रेस विज्ञप्तिमार्फत नगरपालिकाले बाढीबाट प्रभावित सबै नागरिकप्रति ऐक्यबद्धता व्यक्त गर्दै विपद्को सामना गर्न सामूहिक सहयोग र सहकार्य आवश्यक रहेको जनाएको छ । लेटाङ नगरपालिकाले भदौ १९ गते जारी गरेको प्रेस विज्ञप्तिमा उक्त निर्णय सार्वजनिक गरेको हो ।


