मर्स्याङ्दी नदीमा जलसतह खतरा तह पार : तल्लो तटीय क्षेत्रका बासिन्दालाई उच्च सतर्कता अपनाउन आग्रह


लमजुङ, भदौ १६ । लमजुङस्थित मर्स्याङ्दी नदीमा जलसतहले खतरा तह पार गरेपछि नदीको तल्लो तटीय क्षेत्रमा बसोबास गर्ने नागरिकलाई उच्च सतर्कता अपनाउन आग्रह गरिएको छ । बाढी पूर्वानुमान महाशाखाले भदौ १६ गते राति ११ बजेर १५ मिनेटमा सूचना जारी गर्दै मर्स्याङ्दी नदीको भकुण्डेबेँसी जलमापन केन्द्रमा जलसतहले खतरा तह पार गरेको र अझै बढ्दो क्रममा रहेको जनाएको हो ।

महाशाखाका अनुसार नदीको जलसतह निरन्तर बढिरहेको अवस्थामा तल्लो तटीय क्षेत्रमा बाढीको जोखिम थप बढ्न सक्ने भएकाले नदी आसपास तथा तल्लो तटीय क्षेत्रमा बसोबास गर्ने नागरिकले विशेष सावधानी अपनाउन आवश्यक छ । विशेष गरी नदी किनार, खोला तथा तल्लो भूभागमा रहेका बस्तीका बासिन्दाले रातिको समयमा थप सतर्कता अपनाउन, नदीको अवस्था हेर्न जाने वा जोखिमपूर्ण स्थानमा बसिरहने काम नगर्न र आवश्यक परे सुरक्षित स्थानतर्फ जान तयार रहन आग्रह गरिएको छ ।

मर्स्याङ्दी नदीको जलसतह बढ्दै गएको अवस्थामा नदी आसपासका सडक, पुल, बस्ती तथा अन्य संरचनामा समेत जोखिम बढ्न सक्ने भएकाले स्थानीय प्रशासन, सुरक्षा निकाय तथा सम्बन्धित निकायको सूचनालाई ध्यानपूर्वक पालना गर्न महाशाखाले आग्रह गरेको छ । पछिल्लो समय देशका विभिन्न नदी तथा खोलामा जलसतह बढ्ने क्रम देखिएको भन्दै बाढी पूर्वानुमान महाशाखाले जल तथा मौसमसम्बन्धी सूचना निरन्तर निगरानी गर्न सर्वसाधारणलाई आग्रह गर्दै आएको छ ।

प्रतिक्रिया दिनुहोस्