बाढीपीडितका लागि बेलबारी उद्योग वाणिज्य संघको राहत संकलन अभियान : भदौ १८ र १९ गते सहयोग जुटाइने


बेलबारी, मोरङ । रसुवा लगायत विभिन्न जिल्लामा आएको विनाशकारी बाढीबाट प्रभावित तथा पीडित परिवारका लागि बेलबारी उद्योग वाणिज्य संघले राहत सामग्री संकलन अभियान सञ्चालन गर्ने भएको छ । मानवीय सेवाको भावनासहित सञ्चालन गर्न लागिएको अभियानमा खाद्यान्न, लत्ताकपडा, स्वास्थ्य सामग्री, स्टेशनरीलगायत आवश्यक जिन्सी सामग्री संकलन गरिने भएको हो ।

बेलबारी उद्योग वाणिज्य संघको आयोजनामा तथा लायन्स क्लब अफ बेलबारी र बेलबारी जेसिजको सह-आयोजनामा राहत सहयोग संकलन अभियान सञ्चालन गर्न लागिएको संघले जनाएको छ । संघले विपद्का कारण समस्यामा परेका नागरिकको पीडामा साथ दिन उद्योगी, व्यवसायी, विभिन्न संघसंस्था, सामाजिक अभियन्ता तथा सहयोगी मन भएका सम्पूर्ण व्यक्तिलाई अभियानमा सहभागी हुन आग्रह गरेको छ ।

संघले जारी गरेको अपिलमा विपद्का बेला गरिने सानो सहयोगले पनि पीडित परिवारको जीवनमा ठुलो राहत पुर्‍याउन सक्ने उल्लेख गर्दै आफूले सक्ने खाद्यान्न, लत्ताकपडा, स्वास्थ्य सामग्री, स्टेशनरी तथा अन्य आवश्यक सामग्री उपलब्ध गराउन आग्रह गरिएको छ । संकलित राहत सामग्री तथा सहयोगलाई पारदर्शी रूपमा प्रभावित क्षेत्र तथा वास्तविक पीडित परिवारसम्म पुर्‍याउने प्रतिबद्धता संघले जनाएको छ ।

राहत सामग्री संकलन अभियान आगामी भदौ १८ र १९ गते बिहान १० बजेदेखि सञ्चालन हुनेछ । राहत संकलनका लागि बेलबारी नगरपालिका-३ स्थित पश्चिम बसस्ट्यान्डलाई मुख्य स्थान तोकिएको छ । सहयोग गर्न चाहने व्यक्ति तथा संस्थाले अभियानमा प्रत्यक्ष रूपमा सामग्री उपलब्ध गराउन सक्नेछन् ।

बेलबारी उद्योग वाणिज्य संघका कार्यवाहक अध्यक्ष सन्दीप राईले विपद्को पीडामा रहेका नागरिकलाई सहयोग गर्नु सबैको साझा मानवीय दायित्व भएकाले अभियानमा उद्योगी, व्यवसायी तथा आम नागरिकको उल्लेख्य सहभागिता रहने विश्वास व्यक्त गरेका छन् । उनले आफ्नो क्षमता र इच्छाअनुसार सहयोग उपलब्ध गराई राहत अभियानलाई सफल बनाउन सबैमा आग्रह गरेका छन् ।

राहत संकलन तथा अभियानसम्बन्धी थप जानकारीका लागि रुपेश श्रेष्ठलाई ९८५२०५५४१६ नम्बरमा सम्पर्क गर्न सकिने संघले जनाएको छ । त्यस्तै, बेलबारी उद्योग वाणिज्य संघको कार्यालयमा ०२१-४३८००८ तथा ९८६२०६३३०३ नम्बरमा सम्पर्क गर्न सकिनेछ । संघको इमेल [email protected] मार्फत समेत सम्पर्क गर्न सकिने जनाइएको छ ।

राहत अभियानलाई व्यवस्थित र पारदर्शी रूपमा सञ्चालन गर्न छुट्टै राहत व्यवस्थापन समिति गठन गरिएको छ । समितिको संयोजकमा संघका कार्यवाहक अध्यक्ष सन्दीप राई रहेका छन् भने रुपेश श्रेष्ठ सदस्य रहेका छन् । समितिमा नवराज जङ्ग खड्का, अर्जुन कार्की, वसन्त शर्मा, हरि लोहनी, हर्क माझी, रामचन्द्र खड्का, रामकृष्ण थापा, प्रदीप डाँगा, नीरज खवास, सुरेन्द्र सुवेदी, ईश्वर गुरुङ, पूर्ण राई, कृष्णकुमारी यख्खा र महेश सुवेदी सदस्यका रूपमा रहेका छन् ।

रसुवा तथा अन्य प्रभावित जिल्लामा बाढीले घर, व्यवसाय, सडक, पुल तथा अन्य भौतिक संरचनामा ठुलो क्षति पुर्‍याउनुका साथै ठुलो मानवीय संकट निम्त्याएको अवस्थामा बेलबारीबाट सञ्चालन हुन लागेको यो राहत अभियानले प्रभावित परिवारलाई आवश्यक सामग्री उपलब्ध गराउन सहयोग पुग्ने अपेक्षा गरिएको छ ।

बाढीपीडितको दुःखमा साथ दिन सञ्चालन गर्न लागिएको अभियानमा स्थानीय तह, उद्योगी-व्यवसायी, सामाजिक संघसंस्था, विभिन्न क्लब तथा आम नागरिकको सहकार्य आवश्यक रहेको संघले जनाएको छ । “सक्दो सहयोग गरौँ, विपद्मा परेका परिवारको पीडामा साथ दिऔँ” भन्ने भावनाका साथ अभियानलाई सफल बनाउन बेलबारी उद्योग वाणिज्य संघले सम्पूर्ण सहयोगी मनहरूमा हार्दिक अपिल गरेको छ ।

प्रतिक्रिया दिनुहोस्