नुवाकोट, १५ भदौ । नुवाकोटको विदुर नगरपालिका-१० बेत्रावतीमा भदौ १० गते आएको विनाशकारी बाढीले निम्त्याएको मानवीय क्षतिको भयावह दृश्य पाँच दिनपछि थप बाहिर आएको छ । बाढीले आंशिक रूपमा पुरिएको एउटा घरको एउटै कोठाभित्र २० वटाभन्दा बढी शव फेला परेका छन् ।
जिल्ला प्रहरी कार्यालय नुवाकोटका प्रहरी उपरीक्षक विपिन रेग्मीले बेत्रावतीस्थित पुरिएको घरमा ठुलो संख्यामा शव फेला परेको पुष्टि गरेका छन् । यद्यपि, रात परेको र पानी परिरहेको अवस्थाका कारण शवको यकिन संख्या तत्काल निर्धारण गर्न नसकिएको उनले बताएका छन् ।
विदुर नगरपालिका-१० का वडा सदस्य मंगल तामाङका अनुसार उक्त घरभित्र २२ वटा शव रहेको देखिएको छ । उनका अनुसार सुरक्षाकर्मीसहितको टोली सोमबार उक्त घरमा पुगेपछि ठुलो संख्यामा शव फेला परेको हो । उद्धारका क्रममा केही शव बाहिर निकालिए पनि बाँकी शव घरभित्रै रहेको उनले बताएका छन् ।
वडा सदस्य तामाङका अनुसार यसअघि पनि उद्धार टोलीले उक्त घरमा पुगेर खोजी गर्ने प्रयास गरेको थियो । तर घर पुरिएको, पानी परिरहेको र जोखिमपूर्ण अवस्थाका कारण खोजी प्रभावकारी रूपमा अघि बढ्न सकेको थिएन । सोमबार थप सुरक्षाकर्मी परिचालन भएपछि घरभित्र ठुलो संख्यामा शव रहेको खुलेको हो ।
स्थानीयका अनुसार भेटिएका धेरै शवको अवस्था पहिचान गर्न कठिन हुने अवस्थामा छ । उद्धार गरिएका शवलाई सुरक्षित स्थानमा निकालेर आवश्यक कानुनी प्रक्रिया तथा पहिचानको काम अघि बढाउनुपर्ने अवस्था छ । प्रहरीले पनि शवको पहिचान र व्यवस्थापनका लागि सम्बन्धित निकायसँग समन्वय गरिरहेको जनाएको छ ।
भदौ १० गते रसुवाको भोटेकोशी नदीमा आएको भीषण बाढी त्रिशूली नदी हुँदै नुवाकोटका तल्लो तटीय क्षेत्रमा पुगेको थियो । बाढीले बेत्रावतीसहित नुवाकोटका विभिन्न क्षेत्रमा ठुलो जनधनको क्षति पुर्याएको छ । बेत्रावती क्षेत्र विशेष रूपमा प्रभावित भएको थियो ।
बाढीपछि त्रिशूली नदीको तल्लो तटीय क्षेत्रमा विभिन्न स्थानबाट शवहरू फेला पर्ने क्रम जारी छ ।


