‘जाग ए पहरेदार’ कार्यक्रम सम्पन्न : तीन अग्रज धार्मिक अगुवालाई सम्मान


मोरङ । नेपाली ईसाई इतिहासमा २०३४ सालदेखि हालसम्म मण्डली स्थापना, विश्वासको विस्तार र धार्मिक सेवाका क्षेत्रमा योगदान पुर्‍याउँदै आएका अग्रज धार्मिक अगुवाहरूको सम्मानमा ‘जाग ए पहरेदार’ कार्यक्रम सम्पन्न भएको छ । विभिन्न चुनौती, संघर्ष र कठिन परिस्थितिका बीच ईसाई समुदाय तथा मण्डली स्थापनाको क्षेत्रमा निरन्तर नेतृत्व गर्दै आएका अग्रज व्यक्तित्वप्रति सम्मान र कृतज्ञता व्यक्त गर्ने उद्देश्यले बुधबार कार्यक्रम आयोजना गरिएको हो ।

कार्यक्रममा लामो समयदेखि धार्मिक सेवामा सक्रिय तीन अग्रज व्यक्तित्वलाई विशेष सम्मान गरिएको थियो । सम्मानित हुनेहरूमा चर्च अफ गड, भौसाबारी, कानेपोखरी-५ का पास्टर छत्रमान कार्की, अनन्त जीवन मण्डली, देविझोडा, केराबारी-९ का पास्टर लाजरस थापा र हिमालयन पेन्तिकोष्टल चर्च, अधेरी, लेटाङ-१ का भद्रबहादुर मगर रहेका छन् ।

९३ वर्षीय पास्टर छत्रमान कार्की, ७४ वर्षीय पास्टर लाजरस थापा र ७६ वर्षीय भद्रबहादुर मगरले आफ्नो जीवनको लामो समय धार्मिक सेवा, मण्डली स्थापना तथा विश्वासमा समुदायलाई अघि बढाउने कार्यमा समर्पित गरेको आयोजकले जनाएको छ । उनीहरूको योगदान वर्तमान पुस्ताका लागि मात्र नभई नयाँ पुस्तालाई समेत प्रेरणा र मार्गदर्शन दिने महत्वपूर्ण उदाहरणका रूपमा प्रस्तुत गरिएको थियो ।

कार्यक्रममा तीनै जना अग्रज धार्मिक अगुवालाई दोसल्ला ओढाएर सम्मान गर्दै उनीहरूले पुर्‍याएको योगदानप्रति धन्यवाद तथा सम्मान व्यक्त गरिएको थियो । जीवनका विभिन्न कठिनाइ र चुनौतीका बाबजुद आफ्नो विश्वास र सेवाको यात्रालाई निरन्तरता दिएका उनीहरूको योगदानलाई कार्यक्रममा विशेष रूपमा स्मरण गरिएको थियो ।

कार्यक्रमका प्रमुख अतिथिका रूपमा उपासना मिनिष्ट्री, दुबईका प्रेरित दीपेश गुरुङ सहभागी थिए । कार्यक्रममा विशिष्ट अतिथिका रूपमा सम्मानित पास्टर छत्रमान कार्की, पास्टर लाजरस थापा र भद्रबहादुर मगरको उपस्थिति रहेको थियो ।

नेपालका विभिन्न छ वटा प्रदेशबाट आएका ईसाई धर्मावलम्बीहरूको सहभागिता रहेको कार्यक्रममा अग्रज पुस्ताको योगदान, धार्मिक सेवाको निरन्तरता र नयाँ पुस्तालाई जिम्मेवारी हस्तान्तरणका विषयमा जोड दिइएको थियो ।कार्यक्रम ‘ इन्टरसेसर्स फर नेपाल ’ को संयोजनमा आयोजना गरिएको थियो भने कार्यक्रमको सञ्चालन आमोस मगरले गरेका थिए । 

प्रतिक्रिया दिनुहोस्