मोरङमा फोनिजको २७औँ स्थापना दिवस : पत्रकार सम्मानसँगै निःशुल्क स्वास्थ्य सेवा


तृष्णा राई – पथरीशनिश्चरे, मोरङ । नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) मोरङले आफ्नो २७औँ स्थापना दिवस सामाजिक उत्तरदायित्व र पत्रकारिताको सम्मानलाई जोड्दै मनाएको छ । पथरीशनिश्चरे नगरपालिका-९, रिगुवास्थित सिंहबहिनी माध्यमिक विद्यालयमा शनिबार आयोजित कार्यक्रममा स्व. कृष्ण देवान स्मृति पुरस्कार प्रदान, निःशुल्क आँखा परीक्षण तथा औषधि वितरण गरिएको हो ।

कार्यक्रममा पथरीशनिश्चरे नगरपालिकाका नगरप्रमुख मोहनप्रसाद तुम्बापो प्रमुख अतिथिका रूपमा सहभागी थिए भने फोनिज मोरङका अध्यक्ष अनिल श्रेष्ठले अध्यक्षता गरेका थिए । स्थापना दिवसकै अवसरमा फोनिज प्रदेश लेखा समिति संयोजक प्रेम देवानका स्वर्गीय पिता कृष्ण देवानको स्मृतिमा स्थापित ‘कृष्ण देवान स्मृति पुरस्कार’ यस वर्ष पत्रकार भक्तसेर लिम्बुलाई प्रदान गरिएको छ । फोनिज प्रदेश-१ का निवर्तमान इन्चार्ज तथा मोरङका पूर्वअध्यक्षसमेत रहेका लिम्बुलाई ८ हजार रुपैयाँ नगद, कदरपत्र र दोसल्लासहित सम्मान गरिएको हो । पुरस्कार नगरप्रमुख मोहनप्रसाद तुम्बापो र पुरस्कारका संरक्षक प्रेम देवानले संयुक्त रूपमा हस्तान्तरण गरेका थिए ।

गत वर्षदेखि सुरु गरिएको यो पुरस्कार पहिलो पटक फोनिजका संघीय उपाध्यक्ष अर्जुन जम्मेली राईलाई प्रदान गरिएको थियो । पत्रकारिता क्षेत्रमा योगदान पुर्‍याउने व्यक्तित्वलाई सम्मान गर्दै समुदाय र पत्रकारिताबीचको सम्बन्ध अझ बलियो बनाउने उद्देश्यले पुरस्कारलाई निरन्तरता दिइएको आयोजकको बत्ताउँछन् ।

निःशुल्क आँखा परीक्षण शिविरमा २५० जना स्थानीयले आँखा परीक्षण सेवा लिएका थिए । परीक्षणका क्रममा २५ जनामा मोतियाबिन्दुको समस्या पहिचान भएको आयोजकले जनाएको छ । पहिचान भएका बिरामीलाई विराटनगरस्थित विराट रानी आँखा अस्पतालमा थप उपचारका लागि सहजीकरण गरिने बताइएको छ ।

शिविरमा आवश्यक औषधिसमेत निःशुल्क वितरण गरिएको थियो । विराट रानी आँखा अस्पतालको प्राविधिक सहयोग तथा शिवोम मेडिको विराटनगरको सहजीकरणमा कार्यक्रम सम्पन्न भएको हो । कार्यक्रममा शिवोम मेडिकोका सञ्चालक देशबन्धु ढकाल तथा विराट रानी आँखा अस्पताललाई समेत सम्मान गरिएको थियो ।

कार्यक्रमलाई सम्बोधन गर्दै नगरप्रमुख मोहनप्रसाद तुम्बापोले पत्रकारिताको सामाजिक भूमिका र समुदायमुखी कार्यक्रमको प्रशंसा गर्दै स्थापना दिवसको अवसरमा फोनिजलाई शुभकामना दिएका थिए । कार्यक्रममा सिंहबहिनी माध्यमिक विद्यालयका प्रधानाध्यापक उमेश खड्काले स्वागत मन्तव्य व्यक्त गरेका थिए । फोनिज प्रदेश-१ का निवर्तमान इन्चार्ज भक्तसेर लिम्बु, नेपाल पत्रकार महासंघ मोरङका सहसचिव रेवती निरौला तथा नेपाल औषधि व्यवसायी संघ मोरङका अध्यक्ष देशबन्धु ढकाललगायतले शुभकामना व्यक्त गरेका थिए । कार्यक्रमको सञ्चालन फोनिज मोरङका सचिव विद्यानन्द चौधरीले गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्