विराटनगर । मोरङ प्रहरीले नशालु पदार्थ सेवन गराएर एक महिलामाथि जबरजस्ती करणी गरेको आरोपमा एक महिलासहित तीन जनालाई पक्राउ गरेको छ । पक्राउ परेकामाथि अदालतबाट म्याद थप गरी विस्तृत अनुसन्धान अघि बढाइएको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालय मोरङका अनुसार विराटनगर महानगरपालिका-५ निवासी २५ वर्षीया सोनुमा लिम्बुले पीडित महिलालाई योजनाबद्ध रूपमा नशालु पदार्थ सेवन गराएको आरोप छ । त्यसपछि मोरङको केराबारी गाउँपालिका-८ निवासी ५० वर्षीय कमलबहादुर आले मगर र सुन्दरहरैँचा नगरपालिका-१० निवासी ३८ वर्षीय डम्बर खतिवडासँगको मिलेमतोमा पीडितलाई लेटाङ नगरपालिका-१ स्थित हाम्रो रिसोर्टमा लगिएको प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार रिसोर्टमा पुर्याएपछि पीडितलाई ज्यान मार्ने धम्की दिँदै डम्बर खतिवडाले जबरजस्ती करणी गरेको भन्ने उजुरी परेको हो । घटनापछि पीडित महिला आरोपितहरूसँगै सवारीसाधनमा यात्रा गरिरहेका बेला केराबारी-९ स्थित भलुवा क्षेत्रमा प्रहरीले गरेको नियमित चेकजाँचका क्रममा पीडितले प्रहरीसँग सहयोग मागेकी थिइन् । त्यसपछि प्रहरीले तत्काल तीनै जनालाई नियन्त्रणमा लिएको थियो ।
प्रारम्भिक नियन्त्रण इलाका प्रहरी कार्यालय बेलबारीले लिएपछि घटनासम्बन्धी उजुरी इलाका प्रहरी कार्यालय लेटाङमा परेकाले आवश्यक कानुनी प्रक्रियाअनुसार तीनै जनालाई लेटाङ प्रहरीको जिम्मा लगाइएको स्रोतले जनाएको छ । हाल इलाका प्रहरी कार्यालय लेटाङले घटनाको सशक्त रूपमा अनुसन्धान गरिरहेको छ ।
जिल्ला प्रहरी कार्यालय मोरङका अनुसार पक्राउ परेका सोनुमा लिम्बु, कमलबहादुर आले मगर र डम्बर खतिवडाविरुद्ध जबरजस्ती करणी कसुरअन्तर्गत अनुसन्धान भइरहेको छ । मोरङ जिल्ला अदालतबाट पाँच दिनको म्याद थप अनुमति प्राप्त भएपछि अनुसन्धानलाई थप तीव्र बनाइएको प्रहरीले जनाएको छ ।
उजुरी परेलगत्तै इलाका प्रहरी कार्यालय लेटाङले घटनाको प्रमाण संकलन, पीडित तथा सम्बन्धित व्यक्तिहरूको बयान र घटनास्थलको अनुसन्धानलाई तीव्रता दिएको थियो । जिल्ला प्रहरी कार्यालय मोरङले जारी गरेको प्रेस विज्ञप्तिअनुसार अनुसन्धानको निष्कर्षका आधारमा आवश्यक कानुनी कारबाही अघि बढाइनेछ ।


