विराटनगर । विराटनगरका प्रतिष्ठित उद्योगी तथा व्यवसायी बेनी गोपाल (प्रकाश) मुन्दडाको निवासमा ठूलो संख्यामा प्रहरी परिचालन गरी गरिएको खानतलासीपछि उत्पन्न विवादले नयाँ मोड लिएको छ । कोशी प्रदेश प्रहरी कार्यालयले जिल्ला प्रहरी कार्यालय मोरङका प्रहरी उपरीक्षक (एसपी) कवित कटवालसँग २४ घण्टाभित्र लिखित स्पष्टीकरण पेस गर्न निर्देशन दिएको छ ।
घटनाको कानुनी आधार, निर्णय प्रक्रिया र प्रहरी परिचालनको औचित्यमाथि प्रश्न उठेपछि प्रदेश प्रहरी कार्यालयले औपचारिक रूपमा जवाफ मागेको हो । कोशी प्रदेश प्रहरी कार्यालयका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) योगेन्द्रसिंह थापाले हस्ताक्षर गरेको पत्रमार्फत एसपी कटवाललाई ९ बुँदे स्पष्टीकरण मागिएको हो ।
पत्रमा व्यवसायी मुन्दडाको घरमा प्रहरी परिचालन गर्ने निर्णय कुन सूचना वा विश्वसनीय गोप्य सूचनाका आधारमा गरिएको थियो, उक्त सूचनाको प्रमाणीकरण कसरी गरियो, निर्णय कसको विश्लेषणका आधारमा लिइयो तथा कानुनी प्रक्रिया पूरा भए वा नभएकोबारे स्पष्ट पार्न भनिएको छ । प्रदेश प्रहरी कार्यालयले प्रारम्भिक तथ्य, प्राप्त सूचना र उपलब्ध विवरणको अध्ययनपछि उक्त घटनाले प्रहरी संगठनको कार्यसम्पादन, कानुनी शासन, आवश्यकताको सिद्धान्त, समानुपातिकता, जवाफदेहिता तथा प्रहरी नियमावलीको पालनाबारे गम्भीर प्रश्न उठाएको उल्लेख गरेको छ ।
पत्रमा ठूलो संख्यामा प्रहरी परिचालन गर्नुपर्ने अपरिहार्य कारण, परिचालन आदेश कसले र कुन आधारमा जारी गर्यो तथा खानतलासीका क्रममा प्रचलित कानुनी प्रक्रिया पूरा भए वा नभएको विषयमा पनि जवाफ मागिएको छ । घटना सोमबार बिहान विराटनगर महानगरपालिका-७ गोश्वारा रोडस्थित व्यवसायी मुन्दडाको निवासमा भएको थियो ।
बिहानै ठूलो संख्यामा प्रहरी टोली पुगेर करिब पाँच घण्टासम्म घरको विस्तृत खानतलासी गरेको थियो । तर, खोजीका क्रममा कुनै आपत्तिजनक वस्तु वा आपराधिक गतिविधिसँग सम्बन्धित सामग्री फेला नपरेपछि जिल्ला प्रहरी कार्यालय मोरङले विज्ञप्ति जारी गर्दै खानतलासीमा केही बरामद नभएको जानकारी दिएको थियो ।
खानतलासीपछि उद्योगी, व्यवसायी तथा निजी क्षेत्रका विभिन्न संस्थाले प्रहरीको कार्यशैलीप्रति असन्तुष्टि जनाएका छन् । पर्याप्त प्रमाण वा विश्वसनीय आधारबिनै प्रतिष्ठित व्यवसायीको घरमा ठूलो प्रहरी बल परिचालन गरी छापा मारिएको भन्दै उनीहरूले यस घटनाले निजी क्षेत्रलाई त्रसित बनाएको र लगानीमै नकारात्मक सन्देश गएको बताएका छन् ।
स्पष्टीकरण पत्रमा प्रहरीले उक्त कारबाहीबाट कुनै आपराधिक प्रमाण वा सामग्री बरामद नभेटिएको अवस्थामा यति ठूलो स्तरको प्रहरी परिचालन गर्नुको औचित्य के थियो भन्ने विषय पनि स्पष्ट गर्न भनिएको छ । साथै, घटनाले विराटनगरका उद्योगी-व्यवसायी र सर्वसाधारणमा त्रास सिर्जना गरेको तथा प्रहरी संगठनको सार्वजनिक विश्वासमा परेको प्रभावबारे पनि एसपी कटवालको धारणा मागिएको छ ।
स्रोतका अनुसार एसपी कटवालले २४ घण्टाभित्र प्रदेश प्रहरी कार्यालयमा लिखित स्पष्टीकरण बुझाउनुपर्नेछ । त्यसपछि प्राप्त जवाफको मूल्याङ्कन गरी आवश्यक प्रशासनिक वा विभागीय निर्णय लिइने सम्भावना रहेको प्रहरी स्रोतले जनाएको छ ।


