प्रधानमन्त्री शाहद्वारा निर्मल ‘निम्सदाइ’ पुर्जासहित दिवंगत आरोहीप्रति श्रद्धाञ्जली

“उहाँहरूको साहस र समर्पण इतिहासमा सधैँ जीवित रहनेछ”


काठमाडौं । पाकिस्तानको काराकोरम पर्वतशृङ्खलामा अवस्थित विश्वको १२औँ अग्लो हिमाल ब्रोड पिकमा गएको भीषण हिमपहिरोमा परी विश्व कीर्तिमानी नेपाली पर्वतारोही निर्मल ‘निम्सदाइ’ पुर्जासहित अन्य आरोहीहरूको निधन भएपछि प्रधानमन्त्री बालेन्द्र शाहले गहिरो दुःख व्यक्त गर्दै श्रद्धाञ्जली अर्पण गरेका छन् । विश्व पर्वतारोहण क्षेत्रमा असाधारण योगदान दिएका निर्मल पुर्जाको निधनले नेपाल मात्र नभई अन्तर्राष्ट्रिय पर्वतारोहण समुदायलाई स्तब्ध बनाएको छ ।

प्रधानमन्त्री शाहले शनिबार सामाजिक सञ्जालमार्फत शोक सन्देश जारी गर्दै पर्वतारोहण केवल हिमालको शिखर चुम्ने यात्रा मात्र नभई साहस, अनुशासन, त्याग र मानवीय सीमालाई चुनौती दिने अदम्य आत्मविश्वासको सर्वोच्च अभिव्यक्ति भएको उल्लेख गरेका छन् । उनले हिमालले धेरैलाई विजयको गौरव दिलाए पनि कहिलेकाहीँ आफ्नै काखमा सधैँका लागि समेट्ने गरेको उल्लेख गर्दै पर्वतारोहीहरू आफ्नो साहस र समर्पणका कारण इतिहासमा सधैँ अमर रहने विश्वास व्यक्त गरेका छन् ।

प्रधानमन्त्री शाहले आफ्नो सन्देशमा, “निर्मल पुर्जा लगायत सम्पूर्ण दिवंगत आरोहीहरूको भौतिक यात्रा मात्रै रोकिएको हो, तर उहाँहरूको साहस, समर्पण र योगदानको इतिहास सधैँ प्रेरणादायी र जीवित रहिरहनेछ,” भन्ने भाव व्यक्त गर्दै सम्पूर्ण दिवंगत आरोहीहरूप्रति भावपूर्ण श्रद्धाञ्जली तथा शोकसन्तप्त परिवार, आफन्त र शुभेच्छुकहरूप्रति हार्दिक समवेदना प्रकट गरेका छन् ।

निर्मल पुर्जा नेतृत्व गरिरहेको आरोहण टोली पाकिस्तानको गिलगिट-बाल्टिस्तान क्षेत्रमा रहेको ८,०५१ मिटर अग्लो ब्रोड पिक आरोहणका क्रममा बिहीबार भीषण हिमपहिरोमा परेको थियो । एलिट एक्स्पेडका अनुसार हिमपहिरोपछि उनीसहित विभिन्न देशका आरोही सम्पर्कविहीन भएका थिए । केही दिनसम्म चलेको खोज तथा उद्धार प्रयासपछि कम्पनीले निर्मल पुर्जाको निधन भएको पुष्टि गरेको हो। यस दुर्घटनामा नेपालीसहित पाकिस्तान, ओमान, संयुक्त राज्य अमेरिका र चीनका आरोहीहरूको पनि ज्यान गएको पुष्टि भएको छ ।

सन् २०१९ मा विश्वका ८ हजार मिटरभन्दा अग्ला सबै १४ हिमाल केवल ६ महिना ६ दिन मा आरोहण गरेर विश्व कीर्तिमान कायम गरेका निर्मल पुर्जा आधुनिक पर्वतारोहणका सबैभन्दा प्रभावशाली व्यक्तित्वमध्ये एक मानिन्थे । उनले नेपाली पर्वतारोहणलाई विश्वमञ्चमा नयाँ उचाइमा पुर्‍याउनुका साथै सन् २०२१ मा के-टु हिमालको पहिलो सफल शीतकालीन आरोहणमा नेपाली टोलीको नेतृत्व गरेर अर्को ऐतिहासिक कीर्तिमान पनि कायम गरेका थिए । उनको जीवनयात्रामा आधारित ‘१४ पिक्स : नथिङ इज इम्पसिबल’ वृत्तचित्रमार्फत उनको साहसिक यात्रा विश्वभर परिचित बनेको थियो ।

निर्मल ‘निम्सदाइ’ पुर्जाको निधनसँगै नेपालले अन्तर्राष्ट्रिय पर्वतारोहण क्षेत्रका एक असाधारण कीर्तिमानी व्यक्तित्व गुमाएको छ । 

प्रतिक्रिया दिनुहोस्