काठमाडौं । त्रिभुवन विश्वविद्यालय (त्रिवि) व्यवस्थापन संकायअन्तर्गत सञ्चालन भएको मास्टर्स अफ बिजनेस स्टडिज (एमबीएस) प्रथम सेमेस्टरको प्रश्नपत्र परीक्षा चलिरहेकै समयमा सामाजिक सञ्जालमार्फत सार्वजनिक भएको घटनामा नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले मुख्य आरोपीलाई पक्राउ गर्दै अनुसन्धानलाई तीव्र बनाएको छ । प्रश्नपत्रको गोपनीयता भंग भएको घटनाले उच्च शिक्षाको परीक्षा प्रणालीमाथि गम्भीर प्रश्न उठाएको छ भने त्रिभुवन विश्वविद्यालयले पनि घटनाको सत्यतथ्य छानबिन गर्न तीन सदस्यीय समिति गठन गरेको छ ।
प्रहरीका अनुसार कैलालीको घोडाघोडी नगरपालिका-११ स्थायी घर भई हाल भक्तपुरको मध्यपुर थिमी नगरपालिका-१ बस्दै आएका ३३ वर्षीय सन्दीप सिंहलाई शिक्षा ऐन, २०२८ अन्तर्गत प्रश्नपत्रको गोपनीयता भंग गरेको आरोपमा पक्राउ गरिएको हो । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)का प्रवक्ता एसएसपी अनुपम शमशेर जबराद्वारा जारी विज्ञप्तिमा सिंहलाई आइतबार पक्राउ गरी थप अनुसन्धान अघि बढाइएको उल्लेख गरिएको छ ।
यसअघि प्रश्नपत्र सार्वजनिक भएको घटनापछि प्रहरीले ‘सुलभ सर’ भनेर चिनिने व्यक्तिसहित दुई जनालाई नियन्त्रणमा लिएको थियो । अनुसन्धानका क्रममा एक जनाको संलग्नता पुष्टि नभएपछि उनलाई रिहा गरिएको तथा मुख्य रूपमा सन्दीप सिंहमाथि अनुसन्धान केन्द्रित गरिएको प्रहरीले जनाएको छ ।
प्रहरीको प्रारम्भिक अनुसन्धानअनुसार, साउन ८ गते सञ्चालन भएको एमबीएस प्रथम सेमेस्टरको एमजिटी-५१५ (अर्गनाइजेसनल बिहेभियर) विषयको परीक्षा सुरु भएको करिब पाँच मिनेटमै प्रश्नपत्र ‘एमबीएस फर्स्ट सेम सेक्सन सी’ नामक ह्वाट्सएप समूहमा पठाइएको थियो । त्यसपछि उक्त प्रश्नपत्र विभिन्न सामाजिक सञ्जालमार्फत फैलिएको थियो ।
घटना सार्वजनिक भएपछि फेसबुक पेज ‘टीयू स्टुडेन्ट्स’ ले प्रश्नपत्र बाहिरिएको भन्दै त्रिभुवन विश्वविद्यालयको ध्यानाकर्षण गराएको थियो । उक्त पेजले प्रश्नपत्र साझा गरिएको ह्वाट्सएप समूहका स्क्रिनसटसमेत सार्वजनिक गरेपछि विषयले थप चर्चा पाएको थियो ।
प्रश्नपत्र चुहावटको समाचार सार्वजनिक भएसँगै शिक्षामन्त्री सस्मित पोखरेलले शनिवार राति नै नेपाल प्रहरीका महानिरीक्षक दानबहादुर कार्कीसँग छलफल गरी घटनामा संलग्न व्यक्तिलाई तत्काल नियन्त्रणमा लिएर अनुसन्धान अघि बढाउन निर्देशन दिएका थिए । त्यसपछि प्रहरी अनुसन्धानले तीव्रता पाएको हो ।
घटनापछि शिक्षामन्त्री पोखरेलले मन्त्रालयमा सम्बन्धित अधिकारी, प्रहरीका उच्च अधिकारी तथा त्रिभुवन विश्वविद्यालयका पदाधिकारीसँग छुट्टाछुट्टै छलफल गर्दै घटनाको निष्पक्ष छानबिन, दोषीको पहिचान र कानुनी कारबाहीका विषयमा परामर्श गरेका थिए ।
यसैबिच, प्रश्नपत्र चुहावटको घटनालाई गम्भीर रूपमा लिँदै त्रिभुवन विश्वविद्यालय व्यवस्थापन सन्काएको डिन कार्यालयले अनुसन्धानका लागि साइबर ब्युरोलाई औपचारिक पत्राचार गरेको छ । साथै, त्रिवि परीक्षा सञ्चालन समितिले प्रा. डा. अच्युत ज्ञवालीको संयोजकत्वमा तीन सदस्यीय छानबिन समिति गठन गरेको छ ।
समितिमा अनुगमन निर्देशनालयका उपनिर्देशक सहप्राध्यापक डा. पुष्कर रैखला र केन्द्रीय परीक्षा सञ्चालन समितिका सदस्य सहप्राध्यापक डा. महेशराज ओझा सदस्य रहेका छन् । समितिलाई घटनाको सत्यतथ्य पत्ता लगाई आवश्यक सुझावसहित सात कार्यदिनभित्र प्रतिवेदन बुझाउने जिम्मेवारी दिइएको त्रिविले जनाएको छ ।


