बेलबारी । मोरङको कानेपोखरी गाउँपालिका-७ स्थित पूर्व-पश्चिम राजमार्गमा पैदलयात्रीलाई ठक्कर दिएर फरार भएका स्कार्पियो चालकलाई प्रहरीले सवारी साधनसहित पक्राउ गरेको छ । घटनापछि फरार रहेका चालकलाई तीन दिनको खोजतलासपछि इटहरीबाट नियन्त्रणमा लिई थप अनुसन्धान अघि बढाइएको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालय मोरङले बुधवार जारी गरेको प्रेस विज्ञप्तिअनुसार साउन ३ गते कानेपोखरी-७ मा नम्बर नखुलेको सवारी साधनले पैदलयात्री पथरीशनिश्चरे नगरपालिका-१० त्रिवेणीचोक निवासी ६० वर्षीय गोविन्द लिम्बुलाई ठक्कर दिएको थियो । दुर्घटनामा गम्भीर घाइते भएका लिम्बुको उपचारका क्रममा मृत्यु भएपछि प्रहरीले सवारी ज्यानसम्बन्धी कसुरमा मुद्दा दर्ता गरी फरार चालक र सवारी साधनको खोजी थालेको थियो ।
इलाका प्रहरी कार्यालय पथरीबाट ट्राफिक प्रहरीसहित खटिएको टोलीले अनुसन्धानका क्रममा साउन ६ गते राति करिब १० बजे सुनसरीको इटहरी उपमहानगरपालिका-५ स्थित हेभी इक्युपमेन्ट सडक डिभिजन कार्यालय परिसरमा लुकाइराखिएको अवस्थामा बा २ झ २२२६ नम्बरको स्कार्पियो फेला पारेको प्रहरीले जनाएको छ । उक्त सवारीका चालक सिराहाको सुखीपुर गाउँपालिका-८ निवासी ४४ वर्षीय राम उद्गार मण्डललाई जिल्ला प्रहरी कार्यालय सुनसरीसँगको समन्वयमा नियन्त्रणमा लिइएको हो ।
पक्राउ परेका चालक र स्कार्पियोलाई इलाका प्रहरी कार्यालय पथरी ल्याई सवारी ज्यानसम्बन्धी मुद्दामा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार दुर्घटनापछि चालक घटनास्थलबाट फरार भएका थिए । अनुसन्धानको क्रममा सवारी साधनको पहिचान गर्दै त्यसलाई लुकाइराखिएको स्थानसम्म पुगेर चालकलाई नियन्त्रणमा लिन सफलता प्राप्त भएको हो ।
जिल्ला प्रहरी कार्यालय मोरङका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक मकेन्द्र कुमार मिश्रले जारी गरेको विज्ञप्तिमा घटनासम्बन्धी कानुनी प्रक्रिया अघि बढाइएको र आवश्यक अनुसन्धान जारी रहेको उल्लेख गरिएको छ ।


