‘नेपाल भ्रमणमा आफ्ना नागरिकलाई बोलाई दिनुहोस्’ : राजदूतहरूलाई पर्यटनमन्त्रीको आग्रह


काठमाडौँ, १८ मङ्सिर / संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराईले नेपाल भ्रमण वर्ष–२०२० लाई सफल पार्न आवश्यक सहयोग गरिदिनका लागि नेपालस्थित ३१ देशका राजदूत र पाँच वटा वैदेशिक साझेदार संस्थाका प्रमुखहरूसँग आग्रह गरेका छन् ।

मन्त्री भट्टराईले राजदूत र बैदशिक साझेदार संस्थाप्रमुखहरुलाई बुधवार मन्त्रालयमै आमन्त्रण गरेर भने, ‘यो कार्यक्रम बाहिर होटेल अथवा कुनै स्थानमा गर्न सकिन्थ्यो तर मन्त्रालयमै गर्दा सरकार—सरकारबिचको सम्बन्धलाई जोड्ने विश्वासको साथ मन्त्रालयमै गरिएको हो ।’ अब सरकारको विदेश सम्बन्धमा पर्यटन कूटनीति पनि महत्त्वपूर्ण पाटो रहने उनको भनाई छ ।

भ्रमण वर्ष–२०२० सफल पार्नमा नेपालस्थित राजदूतहरूको महत्त्वपूर्ण हुन भन्दै भट्टराईले भ्रमण वर्षको बारेमा विश्वभरि सूचना तथा सन्देश प्रवाहका लागि अनुरोध गरे । ‘नेपाल भ्रमण वर्ष–२०२० को विषयमा यहाँहरूका देशमा सकेसम्म बढी सन्देश प्रवाह गरी यहाँहरूको देशका नागरिक पठाइदिनका लागि अनुरोध गर्छु । मेरो अनुरोध छ, यो वर्षको नयाँ वर्ष—२०१९ र क्रिसमस नेपालमै मनाउनुहोस् । यो सन्देश तपाईँको देशको नागरिकसम्म पनि प्रवाह गरिदिनुहोस् ।’

मन्त्री भट्टराईले सम्बन्धित देशका पर्यटन मन्त्रीहरूलाई भ्रमण वर्षको उद्घाटन समारोहमा उपस्थितिको लागि निमन्त्रणा पठाइसकिएको जानकारी दिँदै पर्यटनमन्त्रीहरुलाई उपस्थित गराइदिनका लागि पहलकदमीका अनुरोध समेत गरे ।

मन्त्री भट्टराईले नेपाल २०७२ को महाभूकम्पले गरेका असर र प्रभावको पीडाबाट बिस्तारै उठिरहेको उल्लेख गर्दै भने, ‘महाभुकम्पको पीडाबाट उठ्न गर्नु भएको सहयोगप्रति फेरि एक पटक आभार प्रकट गर्दछौँ । अब पर्यटन वर्ष सफल पार्नमा पनि यहाँहरूको उस्तै सहयोग र साथको अपेक्षा गरेका छौँ ।’

मन्त्री भट्टराईले महाभुकम्पबाट भत्किएका भएको नेपालका ८९१ सम्पदा मध्ये ३८७ को निर्माण सम्पन्न भएको र बाँकी निर्माणको क्रममा रहेका जानकारी दिए । बाँकी दुई वर्षमा भत्किएका सबै सम्पदाहरूको निर्माण सम्पन्न गरिने लक्ष्य रहेको भन्दै साथ र सहयोगको आह्वान गरे ।

मन्त्री भट्टराईले अब आर्थिक र सामाजिक क्षेत्रको असमानतालाई अन्त्य गर्दै राष्ट्रिय पुँजीको विकास गरेर समतामूलक समाज निर्माणको बाटोमा देशलाई अघि बढाइने बताए । भने, ‘आर्थिक तथा सामाजिक असमानताको अन्त्य गर्दै राष्ट्रिय पुँजीको विकास गरेर समतामूलक समाज निर्माण गर्नेछौँ’ उहाँले भन्नुभयो, ‘यही बाटोबाट हाम्रो सम्माननीय प्रधानमन्त्रीज्यूले घोषणा गर्नुभएको ‘सुखी नेपाली ः समृद्ध नेपाल’को सपना पुरा गर्नेछौँ ।’

मन्त्री भट्टराईले अहिले पर्यटनबाट नेपालको कुल ग्राहस्थ उत्पादनमा ३ प्रतिशत योगदान रहेको जानकारी दिँदै १५ औँ पञ्चवर्षीय योजना सम्पन्न हुँदासम्म १० प्रतिशत योगदान गर्ने लक्ष्य रहेको बताउनुभयो । मन्त्री भट्टराईले अहिले विदेशी पर्यटकहरूले नेपालमा प्रतिदिन ४४ डलर खर्च गरिरहेको उल्लेख गर्नु हुँदै अब ८० डलर खर्च गराउने र वार्षिक ३५ लाख पर्यटक नेपालमा भित्राउने लक्ष्य राखिएको जानकारी दिए ।

मन्त्री भट्टराईले आगामी २०२० मा गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल र २०२१ मा पोखरा अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा ल्याउने जानकारी दिए । त्यस्तै निजगढ अन्तर्राष्ट्रिय विमानस्थलको पनि प्रारम्भिक काम सकिएको भन्दै लगानीको आवश्यक मोडलको विषयमा लगानी बोर्डले काम गरिरहेको बताउनुभयो । गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा उडान भर्ने विमान कम्पनीहरूलाई आकर्षक ‘प्याकेज’ सरकारले छिट्टै घोषणा गर्ने जानकारी दिनुहुँदै भने, ‘तपाईँहरू मार्फत म यो जानकारी तपाईँहरूको देशका वायु सेवा कम्पनीलाई गराउन चाहन्छु ।’

मन्त्री भट्टराईले नेपालको हवाई सुरक्षाको विषयमा युरोपियन युनियन लगायतले राखेको चासोप्रति गम्भीर रहेको भन्दै अन्तर्राष्ट्रिय हवाई सुरक्षाको मापदण्ड पुरा गर्न सरकार सक्रिय रहेका बताए । उनले नेपालका निजी तथा सरकारी वायु सेवा निगम कम्पनीहरूले चाडै विश्वभरिका आकाशमा निर्बाध उडान भर्ने विश्वास व्यक्त गरे ।

मन्त्री भट्टराईले नेपालमा ५३ वटा आन्तरिक विमानस्थल रहेको जानकारी दिँदै आगामी १० वर्ष भित्रमा सबै आन्तरिक विमानस्थललाई अन्तर्राष्ट्रिय मापदण्ड अनुसारको बनाइने बताए ।

कार्यक्रममा मन्त्रालयका सचिव केदारबहादुर अधिकारीले राजदूतहरूलाई स्वागत गर्दै विश्वभरि भ्रमण वर्ष–२०२०को प्रबद्र्धनका लागि अनुरोध गरे । नेपाल भ्रमण वर्ष–२०२० का संयोजक सुरज वैद्यले नेपालको पर्यटनको सम्भाव्यता र भ्रमण वर्षको तयारीको बारेमा जानकारी दिए ।

सहयोगका लागि तयार छौँ : राजदूतहरू

कार्यक्रममा सहभागी राजदूतहरूले नेपाल भ्रमण वर्षलाई सफल पार्न आफूहरूले सहयोग गर्ने प्रतिबद्धता जनाए । नेपालका लागि चिनियाँ राजदूत होऊ कान्छीले नेपाल भ्रमण गर्ने पर्यटनहरूमा चीन दोस्रो रहेको भन्दै नेपाल भ्रमण वर्ष सफल बनाउनका लागि सहयोग र साथको प्रतिबद्धता जनाइन् । भनिन्, ‘नेपाल भ्रमण वर्ष–२०२० सफल बनाउनका लागि प्रबद्र्धनका लागि हाम्रो साथ र सहयोग रहनेछ ।’ उनले नेपालका अन्तर्राष्ट्रिय विमानस्थलहरू चिनियाँ कम्पनीहरूले निर्माण गरिरहेको भन्दै चिनियाँ कम्पनीहरूले गुणस्तरीय काम सहित समयमै निर्माण सम्पन्न गर्ने जानकारी दिइन् ।

नेपालका लागि अमेरिकी राजदूत र्‍याण्डी डब्लू बेरीले नेपाल भ्रमण वर्षसँग सम्बन्धित प्रचार सामाग्री उपलब्ध गराए ती सामाग्री आफ्नो देशमा पठाएर भ्रमण वर्ष सफल बनाउन सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे ।

त्यस्तै, अस्ट्रेलियाका राजदूत पिटर ग्रेम बड, जर्मनीका राजदूत रोलाण्ड साफर, जापानका राजदूत राजमासाभिची साइगो, संयुक्त राष्ट्रसंघका आवासीय संयोजक भ्यालरी जुलिया, युरोपियन युनियनका प्रमुख भेरोनिका काडी लगायतले पनि भ्रमण वर्ष सफल बनाउन आफ्नो ठाउँबाट सक्दो सहयोग गर्ने बताए ।

प्रतिक्रिया दिनुहोस्