बेलबारी । मोरङको बेलबारीमा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का विभिन्न तहका ३४२ जना नेता तथा कार्यकर्ताले पार्टी परित्याग गरेका छन् । उनीहरूले पार्टीको पछिल्लो राजनीतिक कार्यशैली, संगठन सञ्चालनको तरिका तथा नेतृत्वको शैलीप्रति गम्भीर असन्तुष्टि जनाउँदै श्रम संस्कृति पार्टीमा प्रवेश गर्ने निर्णय सार्वजनिक गरेका हुन् ।
बुधवार सार्वजनिक गरिएको विज्ञप्तिअनुसार पार्टी परित्याग गर्नेहरूमा केन्द्रीय सदस्य, प्रदेश सदस्य, जिल्ला सदस्य, नगर सदस्य, वडा सदस्य तथा सङ्गठित सदस्यहरू रहेका छन् । उनीहरूले आफूहरू आजको मितिदेखि नेकपासँग रहेको सम्पूर्ण सदस्यता तथा राजनीतिक सम्बन्ध समाप्त गरेको घोषणा गरेका छन् ।
विज्ञप्तिमा पार्टी परित्याग गर्ने नेताहरूले आफूहरूमध्ये अधिकांश विगतको नगर अधिवेशनबाट लोकतान्त्रिक प्रक्रियामार्फत निर्वाचित भएको उल्लेख गरेका छन् । तर पार्टी एकीकरणपछि समायोजनका नाममा कुनै छलफल, संवाद वा जानकारीबिना निर्वाचित जिम्मेवारीबाट हटाइएको आरोप लगाइएको छ । यसले पार्टीको विधि, पद्धति, आन्तरिक लोकतन्त्र तथा निर्वाचित नेतृत्वको सम्मानमाथि गम्भीर आघात पुगेको उनीहरूको निष्कर्ष रहेको छ ।
विज्ञप्तिमा बहुदलीय लोकतान्त्रिक व्यवस्थामा अन्य राजनीतिक दलसँग स्वस्थ प्रतिस्पर्धा गर्नुपर्ने अवस्थामा आफ्नै पार्टीभित्र गुट-उपगुटको राजनीतिमा अल्झिनुपरेको, कार्यकर्ताको भावना र योगदानको निरन्तर उपेक्षा भएको तथा निर्णय प्रक्रियामा सीमित व्यक्तिहरूको वर्चस्व बढ्दै गएको आरोपसमेत लगाइएको छ । विधि र विधान विपरीत गतिविधि बढेकाले पार्टीभित्र बसेर योगदान गर्ने वातावरण समाप्त भएको महसुस गर्दै सामूहिक रूपमा पार्टी छाड्ने निर्णय गरिएको उल्लेख गरिएको छ ।

सार्वजनिक गरिएको नामावलीमा बेलबारीका तिलकप्रसाद राई, मनकुमार गुरुङ, रामकुमार राई, सन्देश तामाङ, सन्जोग राई, शर्मिला लुंगेली मगर, खड्गबहादुर सुन्दास, दिल तामाङलगायत केन्द्रीय, प्रदेश, नगर तथा विभिन्न तहका जिम्मेवारीमा रहेका नेताहरू समावेश छन् । साथै बेलबारीका विभिन्न वडाका सङ्गठित सदस्यहरूको समेत उल्लेखनीय संख्या रहेको विज्ञप्तिमा जनाइएको छ ।

पार्टी परित्याग गर्ने समूहले आफूहरू अब श्रम संस्कृति पार्टीमार्फत राजनीतिक गतिविधि अघि बढाउने जनाएको छ । उनीहरूले वैचारिक स्पष्टता, लोकतान्त्रिक अभ्यास, विधिसम्मत संगठन सञ्चालन तथा कार्यकर्ताको सम्मान हुने राजनीतिक संस्कृतिको खोजीमा नयाँ यात्रा सुरु गरेको बताएका छन् ।
२०८३ साउन ७ गते सार्वजनिक गरिएको उक्त विज्ञप्तिमा ३४२ जना नेता तथा कार्यकर्ताले सामूहिक रूपमा हस्ताक्षर गर्दै पार्टी परित्यागको निर्णय सार्वजनिक गरेका हुन् । यद्यपि, यस विषयमा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को आधिकारिक धारणा भने सार्वजनिक भएको छैन । पार्टी परित्यागसम्बन्धी दाबी सार्वजनिक भएपछि त्यसबारे नेकपाको प्रतिक्रिया आउन बाँकी रहेको छ।




