सुन्दरहरैँचा । मोरङको सुन्दरहरैँचा-१०, खोर्सानेस्थित सिद्धार्थ माध्यमिक विद्यालयले आफ्ना भाइस प्रिन्सिपल जीवन पौडेललाई यौन हिंसासम्बन्धी आरोपको निष्पक्ष छानबिनका लागि निलम्बन गरेको छ । विद्यालयका पूर्वविद्यार्थी भएको दाबी गर्ने एक व्यक्तिले सामाजिक सञ्जालमार्फत करिब १२-१३ वर्षअघिको घटनासँग सम्बन्धित यौनहिंसाजन्य आरोप सार्वजनिक गरेपछि विद्यालय प्रशासनले अनुसन्धानको प्रक्रिया सहज बनाउन यो निर्णय गरेको हो ।
विद्यालयले २०८३ साउन ७ गते जारी गरेको विज्ञप्तिअनुसार, विद्यालयकै नाम र तस्बिर प्रयोग गरिएको अनधिकृत फेसबुक पेजमार्फत आफू विद्यार्थी रहँदा यौनजन्य दुर्व्यवहार भएको दाबी गर्दै कुनै व्यक्तिले नाम नखुलाई आरोप सार्वजनिक गरेको थियो । उक्त विषयप्रति विद्यालयले गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।
विद्यालयका अनुसार आरोप सार्वजनिक गरिएको भनिएको समयमा यस प्रकृतिको कुनै औपचारिक उजुरी वा गुनासो विद्यालयमा दर्ता भएको थिएन । तर लामो समयपछि यति संवेदनशील विषय सामाजिक सञ्जालमार्फत बाहिर आउनु अत्यन्त दुःखद र गम्भीर विषय भएको विद्यालयको ठहर छ ।
विद्यालय प्रशासनले घटनाको सत्यतथ्य निष्पक्ष रूपमा बाहिर ल्याउन आफू प्रतिबद्ध रहेको जनाएको छ । विज्ञप्तिमा विद्यालयले तथ्य र प्रमाणसहित प्राप्त हुने जुनसुकै गुनासोमाथि आफ्नो अधिकार क्षेत्रभित्र रहेर अनुसन्धान तथा आवश्यक सहजीकरण गर्ने र आवश्यक परे सम्बन्धित कानुनी निकायसँग समेत पूर्ण सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरेको छ ।
यही क्रममा आरोपमाथि निष्पक्ष अनुसन्धान र सत्यतथ्य परीक्षणका लागि मार्ग प्रशस्त गर्न भाइस प्रिन्सिपल जीवन पौडेललाई तत्काल प्रभावबाट निलम्बन गरिएको विद्यालयले जनाएको छ । अनुसन्धान सम्पन्न नभएसम्म उनी नियमित जिम्मेवारीबाट अलग रहनेछन् ।
विद्यालयले यस्ता प्रकृतिका घटनालाई अत्यन्त गम्भीर रूपमा लिएको उल्लेख गर्दै कुनै पनि प्रकारको यौनहिंसा, दुर्व्यवहार वा अवाञ्छित गतिविधिप्रति आफ्नो संस्था सधैँ शून्य सहनशीलताको पक्षमा रहेको स्पष्ट पारेको छ । साथै, तथ्यमा आधारित अनुसन्धानलाई सहयोग गर्न र अपुष्ट वा भ्रामक सूचना प्रसारण नगर्न पनि सबै पक्षसँग अनुरोध गरेको छ ।
विद्यालयका सिनियर भाइस प्रिन्सिपल जे.बी. राईद्वारा जारी सूचनामा सत्यतथ्यका आधारमा सम्बन्धित निकायले गर्ने अनुसन्धानमा विद्यालयले पूर्ण सहयोग गर्ने उल्लेख गरिएको छ ।


