विराटनगर । मोरङको सुन्दरहरैँचा नगरपालिका-१० स्थित सुकुना माध्यमिक विद्यालयमा विद्यार्थीमाथि दुर्व्यवहार गरेको आरोपमा भइरहेको अनुसन्धानका क्रममा प्रहरीले थप एक जनालाई पक्राउ गरेको छ । यससँगै उक्त घटनामा पक्राउ पर्नेको संख्या चार पुगेको छ भने चारै जनाविरुद्ध बालबालिकाविरुद्धको कसुर अन्तर्गत अनुसन्धान अघि बढाइएको प्रहरीले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालय मोरङका अनुसार प्रारम्भिक अनुसन्धानपछि सवारी चालक ४० वर्षीय प्रदीप भट्टराई, विज्ञान विषयका ३० वर्षीय शिक्षक किशोरलाल गच्छदार र विद्यालयका ३५ वर्षीय लेखापाल अविरल मास्केलाई साउन ४ गते बिहान नियन्त्रणमा लिइएको थियो। त्यसपछि अनुसन्धानको दायरा विस्तार गर्दै प्रहरीले झापाको बुद्धशान्ति गाउँपालिका-७ निवासी ३९ वर्षीय भिमप्रसाद नेपाल, जो विद्यालयमा नृत्य प्रशिक्षकका रूपमा कार्यरत रहेका थिए, उनलाई पनि साउन ५ गते पक्राउ गरेको हो ।
प्रहरीका अनुसार अनुसन्धानका क्रममा घटनामा उनको समेत संलग्नता देखिएपछि नियन्त्रणमा लिइएको हो । पक्राउ परेका चारै जनालाई मोरङ जिल्ला अदालत, विराटनगरबाट बालबालिकाविरुद्धको कसुर सम्बन्धी मुद्दामा पाँच दिनको म्याद थप गरी विस्तृत अनुसन्धान अघि बढाइएको छ ।
जिल्ला प्रहरी कार्यालय मोरङका सूचना अधिकारी तथा प्रहरी नायब उपरीक्षक (डीएसपी) मकेन्द्रकुमार मिश्रले घटनाका सबै पक्षको सूक्ष्म अनुसन्धान भइरहेको जानकारी दिएका छन् । उनका अनुसार तथ्य, प्रमाण र डिजिटल सामग्रीसहित उपलब्ध प्रमाणका आधारमा अनुसन्धानलाई निष्पक्ष र प्रभावकारी रूपमा अघि बढाइएको छ । अनुसन्धानबाट थप व्यक्तिको संलग्नता पुष्टि भए कानुनबमोजिम उनीहरूमाथि पनि कारबाही गरिने उनले स्पष्ट पारे ।
यसअघि विद्यालयका विद्यार्थीहरूले शिक्षक तथा कर्मचारीबाट दुर्व्यवहार भएको आरोप लगाउँदै विरोध जनाएका थिए । घटनापछि विद्यार्थी र अभिभावक आक्रोशित बनेका छन् भने विद्यालय परिसरमा तनावपूर्ण अवस्था सिर्जना भएको थियो। त्यसपछि प्रहरीले सुरक्षा व्यवस्था कडा पार्दै अनुसन्धान सुरु गरेको थियो ।
घटनाप्रति सुन्दरहरैँचा नगरपालिकाले पनि गम्भीर चासो व्यक्त गर्दै आरोप लागेका शिक्षक तथा कर्मचारीलाई तत्काल निलम्बन गरी निष्पक्ष छानबिन र आवश्यक कानुनी प्रक्रिया अघि बढाउन विद्यालय व्यवस्थापनलाई निर्देशन दिइसकेको छ ।
प्रहरीले अनुसन्धान जारी रहेकाले अपुष्ट सूचना वा भ्रामक सामग्री सामाजिक सञ्जालमा प्रचार-प्रसार नगर्न सबैलाई आग्रह गरेको छ । घटनाको वास्तविकता अनुसन्धानबाट पुष्टि भएपछि मात्रै विस्तृत विवरण सार्वजनिक गरिने प्रहरीले जनाएको छ ।


