भारतमा पनि असन्तुष्ट जेन-जी पुस्ता सडकमा : बेरोजगारी र पेपर लिकविरुद्ध प्रदर्शनमा प्रहरीको बल प्रयोग


नयाँ दिल्ली । भारतमा बेरोजगारी, सरकारी परीक्षामा हुने प्रश्नपत्र चुहावट (पेपर लिक) तथा क्षेत्रीय अधिकारका विषयमा असन्तुष्टि बढ्दै गएपछि जेन-जी (Gen Z) पुस्ताका युवाहरू विभिन्न चरणमा आन्दोलनमा उत्रिएका छन् । यद्यपि नेपालको जस्तो व्यापक, देशव्यापी र संगठित सडक आन्दोलन भने भारतमा अहिलेसम्म देखिएको छैन। अधिकांश अवस्थामा भारतीय युवाहरूले सामाजिक सञ्जाल, शान्तिपूर्ण प्रदर्शन र प्रतीकात्मक विरोधमार्फत आफ्ना आवाज उठाउँदै आएका छन् ।

हालै सरकारी परीक्षामा बारम्बार प्रश्नपत्र चुहावट भएको भन्दै हजारौँ युवाले नयाँ दिल्लीमा विरोध प्रदर्शन गरेका थिए । आन्दोलनकारीहरूले आफूलाई व्यंग्यात्मक रूपमा ‘ककरोच जनता पार्टी (Cockroach Janta Party)’ को नाम दिएर भ्रष्टाचार, परीक्षा प्रणालीमा देखिएको कमजोरी तथा बढ्दो बेरोजगारीविरुद्ध सरकारको ध्यानाकर्षण गराएका थिए । सुरुआती चरणमा उनीहरूले हातमा गुलाबको फूल बोकेर शान्तिपूर्ण प्रदर्शन गरे पनि आन्दोलन संसद् भवनतर्फ अघि बढ्न खोजेपछि स्थिति तनावपूर्ण बनेको थियो ।

प्रदर्शन नियन्त्रण गर्न दिल्ली प्रहरीले सुरक्षा घेरा कडा पार्दै अश्रुग्याँस प्रहार र लाठीचार्ज गरेको भारतीय सञ्चारमाध्यमहरूले जनाएका छन् । आन्दोलनमा सहभागी दर्जनौँ विद्यार्थी तथा युवा घाइते भएको उल्लेख गरिएको छ । आन्दोलनकारीहरूले परीक्षा प्रणालीमा सुधार, युवालाई रोजगारीको सुनिश्चितता तथा भ्रष्टाचार नियन्त्रणका लागि प्रभावकारी कदम चाल्न सरकारसँग माग गरेका थिए ।

यसैबिच, लद्दाखलाई पूर्ण राज्यको मान्यता दिनुपर्ने मागसहित सञ्चालित आन्दोलनमा पनि ठुलो संख्यामा जेन-जी पुस्ताका युवा तथा विद्यार्थीहरू सहभागी भएका थिए । वातावरणविद् तथा अभियन्ता सोनम वाङचुकको नेतृत्वमा भएको उक्त आन्दोलनले सामाजिक सञ्जालदेखि सडकसम्म व्यापक समर्थन पाएको थियो । आन्दोलनका क्रममा कतिपय स्थानमा तनाव बढ्दै जाँदा तोडफोडका घटनासमेत भएका थिए ।

लद्दाख आन्दोलनका क्रममा लामो समयदेखि अनशनमा रहेका सोनम वाङचुकलाई प्रहरीले बलपूर्वक अस्पताल लगेको घटनाले आन्दोलनलाई थप उग्र बनाएको थियो । त्यसपछि प्रदर्शनकारी र प्रहरीबिच झडप हुँदा बल प्रयोग गरिएको र केही प्रदर्शनकारी घाइते भएको समाचार सार्वजनिक भएका थिए ।

प्रतिक्रिया दिनुहोस्