बेलबारी नगरपालिकाद्वारा सामुदायिक विद्यालयमा निःशुल्क शिक्षा र छात्रवृत्ति कार्यक्रम विस्तार


बेलबारी, असार २६। बेलबारी नगरपालिकाले सामुदायिक विद्यालयमा अध्ययनरत विद्यार्थीहरूको शिक्षामा सहज पहुँच सुनिश्चित गर्न आर्थिक वर्ष २०८३/०८४ का लागि निःशुल्क शिक्षा तथा छात्रवृत्ति कार्यक्रमलाई थप विस्तार गरेको छ । नगरपालिकाले बिहीबार सूचना जारी गर्दै कक्षा ११ र १२ का विद्यार्थीलाई लक्षित गरी विभिन्न विद्यालयमा निःशुल्क अध्ययन, छात्रवृत्ति तथा सहुलियतका कार्यक्रम सञ्चालन गरिने जानकारी दिएको हो ।

नगरपालिकाका अनुसार शिक्षालाई सबै नागरिकको पहुँचमा पुर्‍याउने, आर्थिक अभावका कारण कुनै पनि विद्यार्थी उच्च शिक्षाबाट वञ्चित नहोस् भन्ने उद्देश्यले उक्त कार्यक्रमलाई निरन्तरता दिइएको हो । यसअन्तर्गत तोकिएका सामुदायिक विद्यालयमा अध्ययन गर्ने विद्यार्थीले मासिक शुल्क तिर्नु नपर्ने व्यवस्था गरिएको छ भने भर्ना शुल्क, परीक्षा शुल्क र बस सेवा उपलब्ध भएका विद्यालयमा यातायात शुल्क मात्र तिर्नुपर्ने व्यवस्था गरिएको छ ।

सूचनाअनुसार बेलबारी-४ स्थित कसेनी माध्यमिक विद्यालय, बेलबारी-५ को धनपाल माध्यमिक विद्यालय, बेलबारी-९ को काली माध्यमिक विद्यालय तथा बेलबारी-११ को लक्ष्मी माध्यमिक विद्यालय (होटेल म्यानेजमेन्ट बाहेक) मा कक्षा ११ र १२ मा अध्ययनरत विद्यार्थीले मासिक शुल्क पूर्ण रूपमा निःशुल्क पाउनेछन् ।

त्यस्तै, बेलबारी-८ को जनता माध्यमिक विद्यालय, बेलबारी-९ को जनता नमुना माध्यमिक विद्यालय तथा बेलबारी-१० को धीरनाथ सम्फुल विश्वास माध्यमिक विद्यालय (विज्ञान विषय बाहेक) मा कक्षा ११ मा अध्ययन गर्ने विद्यार्थीका लागि पनि मासिक शुल्क निःशुल्क गरिएको नगरपालिकाले जनाएको छ ।

यसै गरी जनता माध्यमिक विद्यालय, जनता नमुना माध्यमिक विद्यालय, धीरनाथ सम्फुल विश्वास माध्यमिक विद्यालय तथा भगवती माध्यमिक विद्यालयमा कक्षा १२ मा अध्ययनरत विद्यार्थीमध्ये ३५ प्रतिशत विद्यार्थीले कक्षा ११ मा पाउँदै आएको छात्रवृत्ति सुविधालाई निरन्तरता पाउने व्यवस्था गरिएको छ ।

नगरपालिकाले विज्ञान तथा प्राविधिक शिक्षालाई समेत प्राथमिकतामा राख्दै धीरनाथ सम्फुल विश्वास माध्यमिक विद्यालयमा विज्ञान विषय अध्ययन गर्ने तथा लक्ष्मी माध्यमिक विद्यालयमा होटेल म्यानेजमेन्ट विषय अध्ययन गर्ने ५० प्रतिशत विद्यार्थीलाई एक वर्षको मासिक शुल्क बराबरको छात्रवृत्ति उपलब्ध गराउने निर्णय गरेको छ। साथै भगवती माध्यमिक विद्यालय, बेलबारी-३ मा कक्षा ११ मा अध्ययनरत ३५ प्रतिशत विद्यार्थीलाई पनि छात्रवृत्ति प्रदान गरिने भएको छ ।

बेलबारी नगरपालिकाले शिक्षा क्षेत्रमा निरन्तर लगानी गर्दै सामुदायिक विद्यालयको गुणस्तर अभिवृद्धि, विद्यार्थी आकर्षण वृद्धि तथा आर्थिक रूपमा कमजोर परिवारका बालबालिकालाई उच्च शिक्षामा पहुँच विस्तार गर्ने लक्ष्यका साथ यस्ता कार्यक्रम सञ्चालन गर्दै आएको जनाएको छ ।

नगरपालिकाले अभिभावकहरूलाई आफ्ना छोराछोरीलाई सामुदायिक विद्यालयमा भर्ना गराई उपलब्ध सुविधाको अधिकतम उपयोग गर्न आग्रह गरेको छ । नगरपालिकाका अनुसार आगामी दिनमा पनि गुणस्तरीय, समावेशी र पहुँचयोग्य शिक्षाका कार्यक्रमलाई थप प्रभावकारी बनाउँदै लैजाने योजना रहेको छ ।

प्रतिक्रिया दिनुहोस्