बेलबारी । बढ्दो लागूऔषध दुर्व्यसनलाई सामाजिक चुनौतीका रूपमा लिँदै बेलबारी-९, नलबारीस्थित शान्ति युवा समूहको आयोजनामा लागूऔषध दुर्व्यसन विरुद्ध एकदिने सचेतनामूलक कार्यक्रम सम्पन्न भएको छ । शनिबार समूहको कार्यालय परिसरमा आयोजित कार्यक्रममा युवापुस्ता, विद्यार्थी, अभिभावक तथा समुदायलाई लागूऔषधको असर र त्यसबाट बच्ने उपायबारे जानकारी गराइएको थियो ।

कार्यक्रममा इलाका प्रहरी कार्यालय बेलबारीका प्रमुख प्रहरी निरीक्षक राजीव गिरिले सहजीकरण गर्दै लागूऔषध प्रयोग र त्यससँग जोडिएका सामाजिक, कानुनी तथा व्यक्तिगत असरबारे जानकारी गराएका थिए । उनले लागूऔषध नियन्त्रण केवल प्रहरीको जिम्मेवारी नभई परिवार, विद्यालय, समुदाय र युवाको संयुक्त प्रयासबाट मात्रै सम्भव हुने उल्लेख गर्दै समयमै सचेतना र निगरानी आवश्यक रहेको बताए ।

कार्यक्रममा मोटिभेसनल स्पिकरका रूपमा सहभागी उद्धार सुधार केन्द्र, केराबारीका प्रकाश खत्रीले जीवनमा सकारात्मक सोच, आत्मअनुशासन र सही संगतले युवालाई दुर्व्यसनबाट टाढा राख्न सक्ने धारणा व्यक्त गरे । उनले सुधार र पुनःस्थापनाको प्रक्रिया कठिन भए पनि असम्भव नरहेको भन्दै युवाहरूलाई आफ्नो भविष्यप्रति जिम्मेवार बन्न आग्रह गरे ।

शान्ति युवा समूहका अध्यक्ष अजितकुमार धिमालको अध्यक्षतामा सम्पन्न कार्यक्रममा बेलबारी नगरपालिकाका नगर प्रमुख दिलप्रसाद राईको प्रमुख आतिथ्यता रहेको थियो । नगर प्रमुख राईले समुदायस्तरबाट सञ्चालन गरिएका यस्ता अभियानले समाजमा सकारात्मक सन्देश प्रवाह गर्ने उल्लेख गर्दै युवाको ऊर्जा सिर्जनात्मक क्षेत्रमा केन्द्रित गर्न स्थानीय तहले सहकार्य र सहयोगलाई निरन्तरता दिने बताए ।

कार्यक्रममा साहित्यकार तथा समाजसेवी ईरान राई, समूहका संरक्षक प्रकाश राई, प्याबसन बेलबारी नगर समितिका अध्यक्ष भगवती घिमिरे, काली माध्यमिक विद्यालय डाँगिहाटका प्रधानाध्यापक नारायण कोइराला, बेलबारी वडा नं. ९ की सदस्य सीता चौधरी, शान्ति युवा समूहका संस्थापक तथा पूर्व अध्यक्ष प्रेम बान्तवा, पूर्व अध्यक्ष दुर्गाकुमार धिमाल, पूर्व अध्यक्ष तथा सल्लाहकार धिरोज श्रेष्ठ, धर्मराज राई, सल्लाहकार लक्ष्मीनारायण चौधरी, बडाजित राई, डाँगा बजार प्रहरी चौकीका इन्चार्ज असई सन्तोष कटुवाल तथा व्यवसायी दिनेश शाहलगायतको उपस्थिति रहेको थियो ।
समूहका महासचिव सुवास राईले सञ्चालन गरेको कार्यक्रममा वरिष्ठ उपाध्यक्ष गोपाल राईले स्वागत मन्तव्यसहित कार्यक्रमको उद्देश्य र औचित्यमाथि प्रकाश पारेका थिए । कार्यक्रममा करिब दुई सय जना युवा, विद्यार्थी, अभिभावक, सामाजिक अभियन्ता तथा स्थानीयवासीको उल्लेख्य सहभागिता रहेको थियो ।


