बेलबारीका व्यवसायीको सहकार्य : आगलागी प्रभावित व्यवसायीलाई ६४ हजार ८ सय ४५ रुपैयाँ सहयोग


बेलबारी । व्यवसाय केवल व्यापारको सम्बन्ध होइन, कठिन परिस्थितिमा एक-अर्काको साथ बन्ने सामाजिक उत्तरदायित्व पनि हो भन्ने उदाहरण बेलबारीका व्यवसायीहरूले प्रस्तुत गरेका छन् । आर्थिक तथा मानवीय सहकार्यको भावनालाई जीवन्त बनाउँदै बेलबारीका व्यवसायीहरूले आगलागी प्रभावित व्यवसायी लियाकत अन्सारी मियालाई आर्थिक सहयोग हस्तान्तरण गरेका छन् ।

व्यवसाय सञ्चालनमा अप्रत्याशित रूपमा आएको क्षतिपछि प्रभावित बनेका अन्सारीलाई राहत स्वरूप कुल ६४ हजार ८ सय ४५ रुपैयाँ सहयोग उपलब्ध गराइएको हो । बेलबारी उद्योग वाणिज्य संघका कार्यवाहक अध्यक्ष सन्दीप राईका अनुसार सहयोग रकम विभिन्न क्षेत्रबाट जुटाइएको हो । बेलबारी-१ स्थित सिनेमा हल लाइन क्षेत्रका व्यवसायीबाट ३९ हजार ८ सय ४५ रुपैयाँ, बेलबारी उद्योग वाणिज्य संघबाट १५ हजार रुपैयाँ तथा मोबाइल व्यवसायी संघबाट १० हजार रुपैयाँ संकलन गरी प्रभावित व्यवसायीलाई हस्तान्तरण गरिएको जानकारी उनले दिए ।

सहयोग रकम हस्तान्तरण केवल आर्थिक राहत मात्र नभई व्यवसायी समुदायबिचको एकता, अपनत्व र सामाजिक उत्तरदायित्वको सन्देश भएको अध्यक्ष राईले बताए । “व्यवसायी समुदाय केवल नाफा-नोक्सानमा सीमित छैन, समस्या पर्दा एकजुट भएर साथ दिनु हाम्रो दायित्व र संस्कार हो,” उनले भने, “यस अभियानमा सहयोग गर्ने सम्पूर्ण व्यक्ति, संस्था र व्यवसायीप्रति हार्दिक आभार व्यक्त गर्दछौँ । आगामी दिनमा पनि यस्ता मानवीय कार्यलाई निरन्तरता दिने प्रतिबद्धता छ ।”

प्रतिक्रिया दिनुहोस्