विराट भेट्रान गोल्डकपको आय-व्यय सार्वजनिक : ५ लाख १८ हजार रुपैयाँभन्दा बढी बचत


सुन्दरहरैँचा । विराट भेट्रान क्लबले पाँचौँ अन्तर्राष्ट्रिय आमन्त्रण विराट भेट्रान गोल्डकप-२०८२ को आय-व्यय विवरण सार्वजनिक गरेको छ । प्रतियोगिता सम्पन्न भएको केही समयपछि क्लबले पत्रकार सम्मेलनमार्फत प्रतियोगिताको आर्थिक विवरण सार्वजनिक गरेको हो ।

“राष्ट्रका लागि खेलकुद, स्वास्थ्यका लागि खेलकुद” भन्ने मूल नाराका साथ सञ्चालन गरिएको प्रतियोगिता गत २०८२ साल चैत २१ गतेदेखि २८ गतेसम्म सम्पन्न भएको थियो । सार्वजनिक गरिएको आर्थिक विवरणअनुसार प्रतियोगिताबाट कुल १३ लाख ५६ हजार ९०१ रुपैयाँ आम्दानी भएको छ भने ८ लाख ३८ हजार ११४ रुपैयाँ खर्च भएको उल्लेख गरिएको छ । यस आधारमा प्रतियोगिताबाट ५ लाख १८ हजार ७ सय ८७ रुपैयाँ बचत भएको क्लबले जनाएको छ ।

प्रतियोगिता सफलतापूर्वक सम्पन्न गर्न विभिन्न सरकारी निकाय, निजी क्षेत्र, शैक्षिक संस्था, प्रायोजक, संघ-संस्था तथा स्थानीय समाजसेवी व्यक्तित्वहरूबाट उल्लेखनीय सहयोग प्राप्त भएको आयोजकले जनाएको छ । सार्वजनिक गरिएको विवरणअनुसार प्रतियोगिताको आम्दानीतर्फ प्रवर्द्धक सुन्दरहरैँचा नगर खेलकुद विकास समिति, मुख्य प्रायोजक पि.एल.ओ लुब्रिकेन्ट्स मोरङ, जर्सी प्रायोजक तथा विभिन्न सह-प्रायोजक संस्थाहरूको महत्त्वपूर्ण योगदान रहेको छ ।

यसै गरी केराबारी गाउँपालिका, सिद्धार्थ बोर्डिङ स्कुल, सुकुना माध्यमिक विद्यालय, लोहोन्द्रा साझेदारी वन, बालप्रतिभा बोर्डिङ स्कुल, सुविजिमुर बोर्डिङ स्कुल, द राइजिङ बोर्डिङ स्कुल, महालक्ष्मी ट्रेडर्स, ग्रिन सिटी आवास, ड्रिम सिटी आवास, सुकुना सा.व.उ.स., सुधार केन्द्र, हेलेन इन्टरप्राइजेज, गोदावरी रिसोर्ट, गोर्खा ब्रुअरी, सुन्दरहरैँचा नगरपालिका वडा नं. १२ लगायत विभिन्न संस्था तथा व्यक्तित्वहरूको आर्थिक सहयोग रहेको क्लबले जनाइएको छ । त्यसै गरी स्थानीय संघ-संस्था तथा समाजसेवी व्यक्तित्वहरूको सक्रिय सहयोगबाट प्रतियोगिताको आर्थिक व्यवस्थापन थप बलियो बनेको आयोजकले जनाए ।

प्रतियोगिता सफल बनाउन आर्थिक तथा नैतिक सहयोग प्राप्त भएको भन्दै आयोजकले सम्पूर्ण सहयोगीप्रति आभार व्यक्त गरेको छ । त्यस्तै खर्चतर्फ सहभागी टोलीहरूको यातायात व्यवस्थापन, प्रथम तथा द्वितीय पुरस्कार, विधागत पुरस्कार, ट्रफी तथा मेडल, प्रचार-प्रसार, मैदान मर्मत, स्वयंसेवक परिचालन, साउन्ड सिस्टम तथा मञ्च निर्माण, रेफ्री व्यवस्थापन, अतिथि सत्कार, मेडिकल सामग्री तथा अन्य व्यवस्थापन पक्षमा रकम खर्च गरिएको विवरण सार्वजनिक गरिएको छ ।

पत्रकार सम्मेलनमा बोल्दै विराट भेट्रान क्लबका अध्यक्ष लैनबहादुर योन्जन (राजन) ले प्रतियोगिता केवल खेल प्रतिस्पर्धामा सीमित नभई खेल संस्कृतिको विकास, समुदायबिचको सम्बन्ध विस्तार तथा खेल पर्यटन प्रवर्द्धनको माध्यम बनेको बताए। उनले आगामी संस्करणलाई अझ व्यवस्थित, प्रतिस्पर्धात्मक र भव्य रूपमा आयोजना गर्ने लक्ष्य रहेको उल्लेख गरे । अध्यक्ष योन्जनले प्रतियोगिताबाट बचत भएको रकम सुन्दरहरैँचा नगरपालिका-१० मा अवस्थित सुकुना खेल मैदानको स्तरोन्नति तथा स्थानीय खेल क्षेत्रको विकासमा लगानी गरिने जानकारी दिए ।

त्यस्तै आर्थिक संयोजक खगेन्द्र थापाले सार्वजनिक गरिएको आय-व्यय विवरणले संस्थागत पारदर्शिता कायम गर्न सहयोग पुग्ने विश्वास व्यक्त गरे । उनले बचत रकम आगामी दिनमा खेल पूर्वाधार निर्माण, प्रतियोगिता व्यवस्थापन र खेल गतिविधि विस्तारमा उपयोग गरिने जानकारी दिए । कार्यक्रम सञ्चालन क्लबका सचिव रञ्जन शर्माले गरेका थिए । आयोजकका अनुसार आर्थिक पारदर्शितासँगै खेलकुदलाई सामाजिक उत्तरदायित्वसँग जोड्दै आगामी वर्षहरूमा प्रतियोगितालाई अझ प्रभावकारी र स्तरीय बनाउने तयारी गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्