धरानमा श्रम संस्कृति पार्टीका निनाचन्द्र राईसहित नेताहरूको सामूहिक पार्टी परित्याग


धरान । धरानमा श्रम संस्कृति पार्टीका प्रदेश सदस्य निनाचन्द्र राईसहित केन्द्रदेखि स्थानीय तहसम्मका केही सदस्यहरूले सामूहिक रूपमा पार्टी परित्यागको घोषणा गरेका छन् । सामूहिक रूपमा सार्वजनिक गरिएको प्रेस विज्ञप्तिअनुसार पार्टी नेतृत्वले दिएको भनिएको राजनीतिक प्रतिबद्धता कार्यान्वयन नभएको, साथै निर्णय प्रक्रियामा विश्वासघात भएको आरोप लगाउँदै उनीहरूले पार्टीसँगको सबै औपचारिक सम्बन्ध अन्त्य गरेका हुन् ।

विज्ञप्तिमा उल्लेख भएअनुसार धरान उपमहानगरपालिकामा आगामी निर्वाचन लक्षित राजनीतिक रणनीति र उम्मेदवारी सम्बन्धी प्रारम्भिक सहमतिका आधारमा आफूहरू पार्टीमा प्रवेश गरेको दाबी गरिएको छ । पार्टी नेतृत्वसँग पटक-पटक छलफल र संवादपछि नगर प्रमुखदेखि अन्य स्थानीय तहसम्म प्रतिनिधित्व गर्ने समझदारी बनेको विश्वासमा उनीहरू पार्टी प्रवेश गरेको उल्लेख छ ।

तर पछि पार्टी अध्यक्षले सामाजिक सञ्जालमार्फत अर्कै व्यक्तिलाई उम्मेदवार घोषणा गरेपछि पूर्व सहमति उल्लङ्घन भएको भन्दै असन्तुष्टि चुलिएको विज्ञप्तिमा जनाइएको छ । यस घटनापछि नैतिक रूपमा पार्टीमा बसिरहन नसक्ने अवस्था बनेको उनीहरूको भनाइ छ ।

त्यसै आधारमा केन्द्रीय सदस्यदेखि प्रदेश तथा साधारण सदस्यसम्मको हैसियतमा रहेका पूर्ण गहतराज विश्वकर्मा, विष्णु कुमारी राई (राखी नेवाहाङ), निनाचन्द्र राई, नरहरी राई र अटल सिंग राईलगायतले सामूहिक रूपमा पार्टी परित्याग गरेको घोषणा गरेका छन् । उनीहरूले साधारण सदस्यता समेत नरहने स्पष्ट पारेका छन् ।

यो घटनाले श्रम संस्कृति पार्टीभित्रको आन्तरिक विवाद र नेतृत्व-कार्यकर्ताबीचको विश्वास संकटलाई फेरि सतहमा ल्याएको देखिएको छ ।

प्रतिक्रिया दिनुहोस्