रास्वपा बेलबारीको नेतृत्वमा पुष्पराज भण्डारी : प्रथम नगर अधिवेशन


बेलबारी । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बेलबारी नगर समितिको प्रथम नगर अधिवेशनबाट पुष्पराज भण्डारी सभापतिमा निर्वाचित भएका छन् । आइतबार बेलबारी नगरपालिका-११ स्थित स्वर्गिक मार्ग भवनमा सम्पन्न अधिवेशनअन्तर्गत भएको निर्वाचनमा उनले निकटतम प्रतिद्वन्द्वी भीमकुमार श्रेष्ठलाई पराजित गर्दै नगर समितिको नेतृत्व सम्हाल्ने अवसर प्राप्त गरेका हुन् ।

निर्वाचन परिणामअनुसार भण्डारीले ९३ मत प्राप्त गरेका थिए भने उनका प्रतिस्पर्धी श्रेष्ठले ८१ मत प्राप्त गरे । प्रतिस्पर्धात्मक निर्वाचनपछि भण्डारीको नेतृत्वमा नयाँ नगर कार्यसमिति चयन भएको हो ।

उपसभापति पदमा भलाकाजी खड्का विजयी भएका छन् । उनले १३५ मत प्राप्त गर्दै स्पष्ट अग्रता हासिल गरे भने उनका प्रतिस्पर्धी जीवन राउतले ३७ मत प्राप्त गरे । सचिव पदमा झमकबहादुर खड्का निर्विरोध निर्वाचित भएका छन् भने सहसचिवमा नगेनकुमार चौधरी चयन भएका छन् ।

महिला सदस्यतर्फ भावना अधिकारी, अनुजा कटुवाल, कल्पना तामाङ, मनिका मगर तथा रेविका फुयाँल निर्वाचित भएका छन् । त्यसै गरी खुला सदस्यतर्फ होमबहादुर बस्नेत सर्वाधिक ८८ मत प्राप्त गर्दै निर्वाचित भए । रमेश प्रसाईँले ७१ मत प्राप्त गरेका छन् भने अर्जुन पराजुली पनि सदस्य पदमा निर्वाचित भएका छन् ।

सदस्य पदका लागि भएको प्रतिस्पर्धामा गोपाल बस्नेतले ६३ मत, राजेश महतोले ५९ मत, राकेश निरौलाले ५६ मत, शालिग्राम पौडेलले ४२ मत तथा कमलबहादुर पाण्डेले २६ मत प्राप्त गरे । यद्यपि उनीहरू निर्वाचित हुन सकेनन् । खुला सत्र सभापति पदका प्रत्याशी भीमकुमार श्रेष्ठको अध्यक्षतामा सम्पन्न भएको थियो ।

प्रतिक्रिया दिनुहोस्