बेलबारीको विजयी सुरुआतसँगै चौथो सुन्दरहरैँचा मेयर गोल्डकप सुरु


सुन्दरहरैँचा । “स्वास्थ्यका लागि खेलकुद, राष्ट्रका लागि खेलकुद” भन्ने मूल नारासहित मोरङको सुन्दरहरैँचामा चौथो सुन्दरहरैँचा मेयर गोल्डकप २०८२ सुरु भएको छ । सुन्दरहरैँचा नगर खेलकुद विकास समितिको आयोजनामा वडा नं. १२ स्थित शुक्रबारे खेल मैदानमा शनिबारदेखि प्रतियोगिता औपचारिक रूपमा प्रारम्भ भएको हो ।

प्रतियोगिताको उद्घाटन पर्यटन, वन तथा वातावरण मन्त्री भीम पराजुलीले गरेका थिए । उद्घाटन समारोहमा स्थानीय जनप्रतिनिधि, खेलकुदकर्मी, विभिन्न पालिकाका प्रतिनिधि तथा खेलप्रेमीहरूको उल्लेख्य उपस्थिति रहेको थियो ।

उद्घाटन खेलमा बेलबारी नगरपालिकाले उत्कृष्ट प्रदर्शन गर्दै पथरी शनिश्चरे नगरपालिकालाई २-१ गोल अन्तरले पराजित गरी प्रतियोगितामा विजयी सुरुआत गरेको छ । खेलको १९औँ मिनेटमा बेलबारीका जर्सी नम्बर १० का विल्सन गिरीले आकर्षक गोल गर्दै टोलीलाई अग्रता दिलाएका थिए । खेलमा दबाबमा परेको पथरी शनिश्चरेले २६औँ मिनेटमा जर्सी नम्बर ९ का सउरे राउतले गोल गरेपछि १-१ को बराबरीमा पुगेको थियो ।

तर बराबरीको केही मिनेटपछि नै बेलबारीले पुनः अग्रता लिन सफल भयो । खेलको ३०औँ मिनेटमा जर्सी नम्बर १५ का अश्विन गौतमले निर्णायक गोल गर्दै टोलीलाई २-१ को अवस्थामा पुर्‍याए । त्यसपछि दुवै टोलीले दोस्रो हाफमा आक्रामक खेल प्रदर्शन गरे पनि थप गोल हुन नसक्दा पहिलो हाफमै भएको गोल अन्तर नै खेलको नतिजा निर्धारण गर्ने आधार बन्यो ।

बेलबारीको जितमा महत्त्वपूर्ण भूमिका निर्वाह गरेका जर्सी नम्बर ८ का अरुण लिम्बु ‘म्यान अफ द म्याच’ घोषित भए । उनले नगद चार हजार रुपैयाँसहित सम्मान प्राप्त गरेका छन् ।प्रतियोगिताअन्तर्गत आइतबार आयोजक सुन्दरहरैँचा नगरपालिका र उदयपुरको बेलका नगरपालिकाबिच प्रतिस्पर्धा हुने सुन्दरहरैँचा नगर खेलकुद विकास समितिका सदस्य सचिव खड्क श्रेष्ठले जनाएको छ ।

प्रतियोगितामा मोरङ, सुनसरी तथा उदयपुर जिल्लाका विभिन्न स्थानीय तहका टोलीहरूको सहभागिता रहेको छ । बेलबारी नगरपालिका, पथरी शनिश्चरे नगरपालिका, सुन्दरहरैँचा नगरपालिका, बेलका नगरपालिका, केराबारी गाउँपालिका, शिवसताक्षी नगरपालिका तथा इटहरी उपमहानगरपालिकाका टोलीहरू उपाधिका लागि प्रतिस्पर्धामा उत्रिएका छन् ।

प्रतियोगिताको विजेता टोलीले नगद रु.४ लाख रुपैयाँसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ । त्यसै गरी उपविजेता टोलीले नगद रु.२ लाख रुपैयाँसहित ट्रफी र मेडल प्राप्त गर्ने आयोजकले जनाएको छ । प्रतियोगिताको फाइनल खेल जेठ २३ गते सम्पन्न हुने कार्यक्रम रहेको छ ।

प्रतिक्रिया दिनुहोस्