मोरङ । मोरङको सुन्दरहरैंचामा जारी प्रथम अन्तर्राष्ट्रिय सुन्दरहरैंचा खोर्सानी गोल्डकप फुटबल प्रतियोगिता २०८३ अन्तर्गत तेस्रो क्वाटरफाइनल खेल रोमाञ्चक बनेको छ । सतिसाले स्पोर्टिङ क्लबले बिर्तामोड युनाइटेड लाई ट्राइब्रेकरमा ५-४ गोल अन्तरले पराजित गर्दै सेमिफाइनलमा प्रवेश गरेको हो ।

सुन्दर खोर्सानी युवा क्लबको आयोजनामा सञ्चालन भइरहेको प्रतियोगिताको खेल सुन्दरहरैंचा नगरपालिका वडा नं. १० स्थित सुकुना खेल मैदानमा सम्पन्न भएको थियो । निर्धारित समयमा दुवै टोलीले १-१ गोलको बराबरी खेलेपछि खेलको निर्णय ट्राइब्रेकरमार्फत गरिएको हो ।

खेलको पहिलो हाफमा सतिसाले स्पोर्टिङ क्लबले आक्रामक खेल प्रस्तुत गर्दै अग्रता बनाएको थियो । टोलीका सुजन मगर ले खेलको २४ औँ मिनेटमा उत्कृष्ट गोल गर्दै सतिसालेलाई अग्रता दिलाएका थिए । पहिलो हाफभर सतिसालेले खेलमा पकड जमाए पनि दोस्रो हाफमा बिर्तामोड युनाइटेडले शानदार पुनरागमन गर्यो ।

दोस्रो हाफको तेस्रो मिनेटमा प्रशान्त लक्क्षमले गोल गर्दै खेल बराबरीमा ल्याएका थिए । त्यसपछि दुवै टोलीले थप गोलका अवसर सिर्जना गरे पनि निर्धारित समयमा गोल थपिन सकेन र खेल ट्राइब्रेकरमा पुगेको थियो ।

ट्राइब्रेकरमा सतिसाले स्पोर्टिङ क्लबले संयमित प्रदर्शन गर्दै ५-४ गोल अन्तरले जित निकाल्न सफल भयो । खेलभर उत्कृष्ट बचाउ गर्दै टोलीलाई सेमिफाइनलसम्म पुर्याउन महत्त्वपूर्ण भूमिका खेलेका गोलकिपर विपुल मगर “प्लेयर अफ द म्याच” घोषित भए । उनले नगद रु. ३ हजार १ सयसहित ट्रफी प्राप्त गरेका छन् ।

प्रतियोगिताको उक्त खेलमा केराबारी गाउँपालिकाका अध्यक्ष सुमन मिरिचिङ मगर प्रमुख अतिथिका रूपमा उपस्थित रहेका थिए । प्रतियोगिता अन्तर्गत जेठ ५ गते हुने चौथो क्वाटरफाइनल खेलमा आयोजक टोली सुन्दर खोर्सानी युवा क्लब र राष्ट्रिय जागृति क्लब बिच प्रतिस्पर्धा हुने आयोजकले जनाएको छ ।








