सुन्दरहरैंचामा लागूपदार्थ दुर्व्यसन विरुद्ध युवामुखी चेतनामूलक कार्यक्रम सम्पन्न


मोरङ । युवापुस्तालाई लागूपदार्थ दुर्व्यसनबाट टाढा राख्दै सचेत, जिम्मेवार र सकारात्मक समाज निर्माण गर्ने उद्देश्यले मोरङको सुन्दरहरैंचा-१२ मा “लागूपदार्थ दुर्व्यसन विरुद्ध युवाहरूका लागि चेतनामूलक कार्यक्रम” सम्पन्न भएको छ । भुल्के यूथ सोसाइटीको आयोजनामा तथा आरम्भ सुधार केन्द्रको समन्वयमा बुधवार आयोजित कार्यक्रममा विद्यार्थी, युवा, शिक्षक, सुरक्षाकर्मी तथा स्थानीय समाजसेवीहरूको उल्लेख्य सहभागिता रहेको थियो ।

कार्यक्रममा लागूपदार्थ दुर्व्यसनका कारण समाज, परिवार र युवापुस्तामा पर्न सक्ने नकारात्मक प्रभावबारे विस्तृत रूपमा जानकारी गराइएको थियो । सहभागी युवाहरूलाई सचेत बनाउने उद्देश्यले काउन्सेलिङ, अनुभव आदानप्रदान तथा प्रेरणामूलक सहजीकरण समेत गरिएको थियो । कार्यक्रम सफल बनाउन सहयोग पुर्‍याउने सम्पूर्ण व्यक्तित्व तथा संस्थाप्रति आयोजकले आभार व्यक्त गरेका छन् । विशेष रूपमा रोशन प्रसाद ढकाल प्रति कार्यक्रम सञ्चालनका लागि प्रदान गरिएको सहयोग, प्रेरणा र साथप्रति धन्यवाद ज्ञापन गरिएको छ । साथै सुन्दरहरैंचा-१२ वडा कार्यालयले गरेको समन्वय र सहयोगको पनि प्रशंसा गरिएको छ।

कार्यक्रममा सहजीकरण गरेका टिकाराम सिग्देलले युवाहरूलाई लागूपदार्थ दुर्व्यसनको जोखिम, त्यसबाट हुने सामाजिक तथा मानसिक असर र पुनः स्थापनाको आवश्यकता विषयमा प्रभावकारी परामर्श दिएका थिए । उनलाई कोशी प्रदेशकै अनुभवी काउन्सेलरमध्ये एकका रूपमा सम्मान व्यक्त गरिएको थियो । त्यसै गरी राजीव गिरीले पनि लागूपदार्थ दुर्व्यसन नियन्त्रणमा समुदाय, परिवार र युवाहरूको भूमिकाबारे जानकारी दिँदै सचेतनामूलक सहजीकरण गरेका थिए ।

कार्यक्रममा सहभागी विद्यार्थी, शिक्षक, पत्रकार तथा अतिथिहरूले यस्ता कार्यक्रमले युवापुस्तामा सकारात्मक चेतना फैलाउन महत्त्वपूर्ण भूमिका खेल्ने धारणा व्यक्त गरेका थिए । कार्यक्रम निर्धारित समयभन्दा केही ढिला सुरु भए पनि सहभागीहरूको उत्साह र धैर्यताले कार्यक्रमलाई सफल बनाउन सहयोग पुगेको आयोजकले जनाएको छ । “लागूपदार्थ त्यागौँ, उज्ज्वल भविष्य रोजौँ” भन्ने सन्देशसहित सम्पन्न उक्त कार्यक्रमले युवाहरूलाई सकारात्मक जीवनशैलीतर्फ प्रेरित गर्ने विश्वास गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्