लेटाङमा अन्तरधार्मिक शान्ति पार्क उद्घाटन : सहअस्तित्व र सद्भावको सशक्त सन्देश


मोरङ । नेपालको बहुधार्मिक तथा बहुसांस्कृतिक पहिचानलाई मूर्त रूपमा प्रस्तुत गर्दै मोरङको लेटाङ नगरपालिकामा अन्तरधार्मिक शान्ति पार्कको शुक्रवार औपचारिक उद्घाटन गरिएको छ । धार्मिक सहिष्णुता, सहअस्तित्व र आपसी सम्मानलाई व्यवहारमा उतार्ने उद्देश्यले निर्माण गरिएको उक्त पार्कको उद्घाटन २५७० औँ बुद्ध जयन्तीको अवसरमा सम्पन्न भएको हो । 

नेपालको २०७८ सालको १२औँ राष्ट्रिय जनगणनाअनुसार देशमा हिन्दु धर्मावलम्बी ८१.२ प्रतिशत, बौद्ध ८.२ प्रतिशत, इस्लाम ५.१ प्रतिशत, किराँत ३.२ प्रतिशत, इसाइ १.८ प्रतिशत र अन्य ०.५ प्रतिशत रहेका छन् । यही धार्मिक विविधताबिच सहअस्तित्व र पारस्परिक सम्मान कायम राख्ने सन्देशलाई केन्द्रमा राख्दै निर्माण गरिएको उक्त पार्कमा हिन्दु, बौद्ध, किराँत, इसाइ र इस्लाम नेपालका प्रमुख पाँच धर्मलाई एउटै परिसरमा समेटिएको छ ।

पार्कको उद्घाटन पूर्व सांसद घनश्याम खतिवडा र हर्कमान तामाङले संयुक्त रूपमा गरेका हुन् । उद्घाटन कार्यक्रममा बोल्दै नगर प्रमुख भूपेन्द्र कुमार लावतीले नेपाली समाजमा शान्ति, मेलमिलाप र सहअस्तित्वको संस्कार सुदृढ गर्ने लक्ष्यसहित यो पार्क निर्माण गरिएको बताए । उनका अनुसार लामो सामाजिक प्रयास र सहकार्यको परिणामस्वरूप यो संरचना सम्भव भएको हो ।

नगर प्रमुख लावतीका अनुसार २०५० को दशकमा करिब एक दशक लामो सशस्त्र द्वन्द्वका कारण समाजमा उत्पन्न विभाजन र अस्थिरताको पृष्ठभूमिमा शान्ति स्थापना अत्यावश्यक बनेको थियो । सोही सन्दर्भमा वि.सं. २०६२ माघ १ गतेदेखि स्थानीय तहमा सामुदायिक शान्ति अभियान सुरु गरिएको थियो । विभिन्न धर्मका अगुवाबिच संवाद, सहकार्य र साझा पहलमार्फत मेलमिलाप प्रवर्द्धन गर्ने प्रयासहरू निरन्तर अघि बढाइएका थिए । अन्तरधार्मिक गोष्ठी, प्रवचन तथा धर्मनिरपेक्षताको पक्षमा पैरवीजस्ता गतिविधिहरूले समाजमा सकारात्मक सोच विकास गर्दै शान्ति प्रक्रियामा महत्त्वपूर्ण योगदान पुर्‍याएको उनले उल्लेख गरे ।

तीन वर्षभन्दा बढी समयको निरन्तर प्रयासपछि निर्माण सम्पन्न गरिएको उक्त पार्कमा प्रत्येक धर्मका अनुयायीले आफ्नो परम्पराअनुसार पूजा-आराधना गर्न मिल्ने संरचना तयार गरिएको छ । पार्कभर सेतो रङको प्रयोग शान्तिको प्रतीकका रूपमा गरिएको छ, जसले समग्र मानव समाजमा सद्भाव र सहअस्तित्वको सन्देश प्रवाह गर्ने विश्वास गरिएको छ ।

नगरपालिकाको अनुसार विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) अनुसार करिब ९ करोड ४७ लाख रुपैयाँ लागत अनुमान गरिएकोमा खुला बोलपत्र प्रक्रियामार्फत करिब ६ करोड ८ लाख रुपैयाँमा ठेक्का सम्झौता गरिएको थियो । २०८३ कात्तिक ३० गतेभित्र सम्पन्न गर्ने लक्ष्य राखिएको निर्माण कार्य निर्धारित समयभन्दा अघि नै २०८३ वैशाख १४ गते सम्पन्न भएको छ ।

उपप्रमुख कृष्ण कुमारी पोख्रेल निरौलाका अनुसार राजारानी क्षेत्र धार्मिक, ऐतिहासिक तथा पुरातात्त्विक दृष्टिले अत्यन्त महत्त्वपूर्ण स्थलका रूपमा परिचित छ । सोही क्षेत्रमा अन्तरधार्मिक शान्ति पार्कको निर्माणले यसको महत्त्व अझ उच्च बनाएको उनले उल्लेख गरिन् । पार्कभित्र शान्ति, अनुशासन र सद्भाव कायम राख्न विशेष ध्यान दिइएको छ, जसका लागि विभिन्न गतिविधिहरूमा स्पष्ट प्रतिबन्ध लगाइएको छ । यहाँ पिकनिक तथा खानपान, राजनीतिक वा धार्मिक प्रचारप्रसार, ध्वनि प्रदूषण, धूम्रपान तथा मद्यपान जस्ता गतिविधिहरू निषेध गरिएको छ । साथै, कुनै पनि कार्यक्रम सञ्चालन गर्नुअघि व्यवस्थापन समितिबाट अनिवार्य रूपमा अनुमति लिनुपर्ने व्यवस्था गरिएको छ ।

धार्मिक सहिष्णुता र मानव एकताको सन्देश बोकेको यो अन्तरधार्मिक शान्ति पार्कले भविष्यमा नेपालको सांस्कृतिक तथा धार्मिक विविधताको संरक्षण गर्दै सामाजिक सद्भाव, शान्ति र समृद्धिमा महत्त्वपूर्ण योगदान पुर्‍याउने अपेक्षा गरिएको छ ।बेलबारी नगरपालिकाका नगर प्रमुख दिल प्रसाद राई, सुन्दरहरैैँचाका नगर प्रमुख केदारप्रसाद गुरागाईँ, पथरी शनिश्चरेका नगर प्रमुख मोहनप्रसाद तुम्वापो लगायतको उपस्थिति रहेको थियो । कार्यक्रममा विभिन्न धर्म तथा समुदायका धर्मगुरुहरूले शुभकामना मन्तव्य राख्दै शान्ति, सहिष्णुता र सहअस्तित्वको सन्देश प्रवाह गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्