प्रधान सेनापति सिग्देल र अमेरिकी सेनाका उच्च अधिकारी भोवेलबीच भेटवार्ता


काठमाडौँ । प्रधान सेनापति अशोकराज सिग्देलसँग अमेरिकी सेनाको प्यासिफिक कमाण्डका उपप्रमुख लेफ्टिनेन्ट जनरल जोएल भोवेलले भेटवार्ता गरेका छन् । सैनिक मुख्यालय जङ्गीअड्डामा आज भएको उक्त भेटवार्तामा नेपाल र अमेरिकाबिचको सैनिक सम्बन्ध, आपसी सहकार्य तथा द्विपक्षीय हितका विविध विषयमा छलफल भएको नेपाली सेनाले जनाएको छ । भेटका क्रममा दुवै पक्षले क्षेत्रीय सुरक्षा, सैन्य तालिम तथा अनुभव आदान–प्रदानका विषयमा समेत विचारविमर्श गरेका थिए ।

पूर्वनिर्धारित कार्यक्रमअनुसार नियमित भ्रमणका सिलसिलामा लेफ्टिनेन्ट जनरल भोवेल नेतृत्वको टोली भारत र भुटान हुँदै आइतबार नेपाल आइपुगेको हो । नेपाल बसाइका क्रममा उक्त टोलीले काभ्रेको पाँचखालस्थित नेपाली सेनाको वीरेन्द्र शान्ति कार्य तालिम केन्द्रको भ्रमण गर्ने कार्यक्रम रहेको बताइएको छ । उक्त तालिम केन्द्र संयुक्त राष्ट्रसंघीय शान्ति स्थापना मिसनका लागि नेपाली सेनालाई तालिम प्रदान गर्ने महत्त्वपूर्ण केन्द्रका रूपमा परिचित छ । भ्रमणका क्रममा टोलीले केन्द्रको कार्यप्रणाली, तालिम व्यवस्थापन तथा पूर्वाधारबारे जानकारी लिने जनाइएको छ।

भ्रमण तालिकाअनुसार भोवेल नेतृत्वको टोली भोलि मङ्गलवार थाइल्यान्डतर्फ प्रस्थान गर्नेछ ।

प्रतिक्रिया दिनुहोस्