विराटनगर । आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचन २०८२ लाई शान्तिपूर्ण र सुरक्षित वातावरणमा सम्पन्न गर्ने उद्देश्यले जिल्ला प्रशासन कार्यालय मोरङले जिल्लाभित्र सञ्चालन हुने सम्पूर्ण रात्रिकालीन व्यवसायमा समय सीमा तोकेको छ । प्रशासनले मिति २०८२ फागुन १७ गतेदेखि निर्वाचनको अन्तिम परिणाम घोषणा नभएसम्म सबै प्रकारका रात्रिकालीन व्यवसाय बेलुका ७:०० बजेसम्म मात्र सञ्चालन गर्न निर्देशन दिएको हो ।
जिल्ला प्रशासन कार्यालयद्वारा जारी सूचनाअनुसार होटेल, रेष्टुरेन्ट, पार्टी प्यालेस, डान्स बार, गीत-गजल कार्यक्रम लगायतका साँझपछिका व्यवसाय तोकिएको समयसीमाभित्र मात्र सञ्चालन गर्नुपर्नेछ । निर्वाचनको सुरक्षा व्यवस्थालाई सुदृढ बनाउने र सम्भावित अवाञ्छित गतिविधि नियन्त्रण गर्ने उद्देश्यले यस्तो निर्णय गरिएको प्रशासनले जनाएको छ ।
सूचनामा तोकिएको समयसीमाभन्दा बाहिर व्यवसाय सञ्चालन गरेको पाइएमा प्रचलित कानुनअनुसार कारबाही गरिने चेतावनी दिइएको छ । प्रशासनले सुरक्षा निकायमार्फत अनुगमनलाई तीव्र बनाइने र नियम उल्लङ्घन गर्नेलाई कडाइका साथ कारबाही गरिने स्पष्ट पारेको छ ।
सहायक प्रमुख जिल्ला अधिकारी पवनराज कोइरालाद्वारा हस्ताक्षरित सूचनामा निर्वाचन अवधिमा शान्ति, सुरक्षा र सामाजिक सद्भाव कायम राख्न सबै व्यवसायी तथा सर्वसाधारणको सहयोग आवश्यक रहेको उल्लेख गरिएको छ । प्रशासनले निर्वाचनलाई मर्यादित र निष्पक्ष रूपमा सम्पन्न गराउन जारी गरिएको निर्देशनको पालना गर्न आग्रह गरेको छ ।


