निर्वाचन अवधिभर मोरङमा मदिरा उत्पादन, बिक्री वितरण र सेवनमा पूर्ण प्रतिबन्ध


विराटनगर । प्रतिनिधिसभा सदस्य निर्वाचनलाई स्वतन्त्र, निष्पक्ष, भयरहित र विश्वसनीय वातावरणमा सम्पन्न गर्ने उद्देश्यले जिल्ला प्रशासन कार्यालय मोरङले जिल्लाभर मदिराजन्य पदार्थको उत्पादन, बिक्री वितरण तथा सेवनमा पूर्ण प्रतिबन्ध लगाएको छ । गृह मन्त्रालयको निर्णयअनुसार निर्वाचनको सात दिनअघि अर्थात् फागुन १४ गतेदेखि लागू हुने गरी अन्तिम मत परिणाम घोषणा नभएसम्म मदिरासम्बन्धी सम्पूर्ण गतिविधिमा रोक लगाइएको प्रशासनले जनाएको छ ।

जिल्ला प्रशासन कार्यालय मोरङद्वारा जारी अत्यन्त जरुरी सूचनामा घरेलु मदिरा उत्पादन, सबै प्रकारका मादक पदार्थको बिक्री वितरण तथा सेवनलाई पूर्ण रूपमा निषेध गरिएको उल्लेख गरिएको छ। प्रशासनका अनुसार निर्वाचन अवधिमा शान्ति सुरक्षा, अनुशासन र निष्पक्ष वातावरण कायम राख्न यस्तो निर्णय गरिएको हो । निर्वाचन प्रक्रियामा कुनै किसिमको अवाञ्छित गतिविधि, प्रभाव वा अवरोध हुन नदिन मदिराजन्य पदार्थमाथि कडाइ गरिएको बताइएको छ ।

सहायक प्रमुख जिल्ला अधिकारी सरोज कोइरालाले जारी गरेको सूचनामा प्रतिबन्धको उल्लङ्घन गरी मदिरा उत्पादन, बिक्री वितरण वा सेवन गरेको पाइएमा प्रचलित कानुनअनुसार तत्काल कारबाही गरिने चेतावनी दिइएको छ । प्रशासनले जिल्लाभर सुरक्षा निकायमार्फत अनुगमनलाई तीव्र बनाइने र नियम उल्लङ्घन गर्ने व्यक्ति वा व्यवसायमाथि कानुनी कारबाही गरिने स्पष्ट पारेको छ ।

निर्वाचनलाई शान्तिपूर्ण, मर्यादित र निष्पक्ष रूपमा सम्पन्न गराउन प्रशासनले सबै उद्योगी, व्यवसायी तथा सर्वसाधारण नागरिकलाई जारी गरिएको निर्देशनको पूर्ण पालना गर्न आग्रह गरेको छ । साथै, निर्वाचनको संवेदनशीलतालाई मध्यनजर गर्दै सामाजिक जिम्मेवारी र कानुनी दायित्वलाई सम्मान गर्न पनि प्रशासनले अनुरोध गरेको छ ।

प्रतिक्रिया दिनुहोस्