मोरङको नेपाल-भारत सीमा नाका ७२ घण्टा बन्द हुने : प्रतिनिधिसभा सदस्य निर्वाचन


विराटनगर । प्रतिनिधिसभा सदस्य निर्वाचन २०८२ लाई सुरक्षित, निष्पक्ष र भयरहित वातावरणमा सम्पन्न गर्ने उद्देश्यले मोरङ जिल्लाका नेपाल-भारत सीमा नाका अस्थायी रूपमा बन्द गरिने भएको छ । जिल्ला प्रशासन कार्यालय मोरङले जारी गरेको अत्यन्त जरुरी सूचनाअनुसार फागुन १८ गते राति १२:०० बजेदेखि फागुन २१ गते राति १२:०० बजेसम्म सीमा नाका बन्द रहनेछ ।

प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि लागू गरिएको एकीकृत सुरक्षा योजना, २०८२ तथा निर्वाचन सुरक्षा (व्यवस्थापन) निर्देशिकाअनुसार निर्वाचन हुनुभन्दा ७२ घण्टा अघि सीमा नाका बन्द गर्नुपर्ने व्यवस्था रहेको छ । सोही व्यवस्थाको कार्यान्वयन स्वरूप मोरङ जिल्लामा पर्ने सम्पूर्ण नेपाल-भारत सीमा नाका तोकिएको अवधिसम्म बन्द रहने प्रशासनले जनाएको छ ।

जिल्ला प्रशासन कार्यालयका सहायक प्रमुख जिल्ला अधिकारी सरोज कोइरालाद्वारा जारी सूचनामा बन्द अवधिभर आपत्कालीन सेवाबाहेक अन्य आवतजावत पूर्ण रूपमा रोक लगाइने उल्लेख गरिएको छ । सीमा नाकाबाट हुने आवागमन निर्वाचनको निष्पक्षता र सुरक्षा संवेदनशीलतासँग प्रत्यक्ष जोडिएको हुँदा सम्भावित जोखिम न्यूनीकरण गर्न यस्तो निर्णय गरिएको प्रशासनले स्पष्ट पारेको छ ।

प्रशासनले निर्वाचन अवधिमा सीमा क्षेत्रको सुरक्षा व्यवस्थालाई थप सुदृढ बनाउँदै सुरक्षा निकायलाई उच्च सतर्कतामा राखिएको जनाएको छ। सीमा नाकाबाट हुन सक्ने अवाञ्छित गतिविधि, गैर कानुनी आवतजावत तथा निर्वाचनमा प्रभाव पार्ने सम्भावनालाई नियन्त्रण गर्न यो कदम चालिएको हो ।

प्रतिक्रिया दिनुहोस्