काठमाडौं । इरानका सर्वोच्च नेता आयतुल्लाह अली खामेनीको निधन भएको इरानको सरकारी टेलिभिजनले पुष्टि गरेको छ । लामो समयदेखि इरानको सर्वोच्च धार्मिक तथा राजनीतिक नेतृत्व सम्हाल्दै आएका खामेनीको निधनसँगै देशभर ४० दिन राष्ट्रिय शोक घोषणा गरिएको जनाइएको छ ।
इरानको राज्य टेलिभिजनले औपचारिक रूपमा उनको निधनको जानकारी सार्वजनिक गर्दै राष्ट्रका लागि खामेनीको योगदानलाई ऐतिहासिक र निर्णायक रहेको उल्लेख गरेको छ । शोक अवधिभर राष्ट्रिय झण्डा आधा झुकाइने, सरकारी कार्यक्रमहरू सीमित गरिने र देशभर विशेष श्रद्धाञ्जली कार्यक्रम आयोजना गरिने बताइएको छ ।
यसअघि अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले सामाजिक सञ्जाल ‘ट्रुथ सोसल’मार्फत् आयतुल्लाह खामेनी मारिएको दाबी गरेका थिए । ट्रम्पको उक्त दाबीपछि अन्तर्राष्ट्रिय समुदायमा चासो र चर्चा बढेको थियो । यद्यपि, त्यसबेला इरान सरकारले आधिकारिक पुष्टि नगरेका कारण विभिन्न अड्कलबाजीहरू भइरहेका थिए। पछिल्लो समय भने इरानको सरकारी माध्यमबाट निधन पुष्टि भएसँगै यस विषयमा स्पष्टता आएको हो ।
आयतुल्लाह खामेनी सन् १९८९ देखि इरानका सर्वोच्च नेता रहेका थिए । उनी इरानका दोस्रो सर्वोच्च नेता हुन्, जसले इस्लामिक गणतन्त्रको राजनीतिक, धार्मिक र सुरक्षा नीतिमा निर्णायक भूमिका खेलेका थिए । खामेनीको नेतृत्वमा इरानले आन्तरिक राजनीतिक स्थायित्व कायम राख्दै अन्तर्राष्ट्रिय स्तरमा पनि आफ्नो प्रभाव विस्तार गर्ने प्रयास गरेको थियो। विशेषगरी अमेरिका र पश्चिमी देशहरूसँगको तनाव, आणविक कार्यक्रम तथा मध्यपूर्वको शक्ति सन्तुलनमा उनको भूमिका महत्वपूर्ण मानिन्छ ।
उनको निधनसँगै इरानको राजनीतिक भविष्य, नेतृत्व हस्तान्तरण प्रक्रिया र क्षेत्रीय शक्ति सन्तुलनबारे अन्तर्राष्ट्रिय समुदायको ध्यान केन्द्रित भएको छ । इरानको संविधानअनुसार सर्वोच्च नेताको चयन ‘विशेषज्ञहरूको सभा’ (Assembly of Experts) ले गर्ने व्यवस्था रहेको छ, जसले आगामी नेतृत्वबारे निर्णय गर्ने अपेक्षा गरिएको छ ।


