बागलुङ जिप दुर्घटनामा १४ जनाले ज्यान गुमाए


गुल्मी, १७ मङ्सिर । गुल्मी र बागलुङको सिमाना बढिगाड गाउँपालिकाको वडा नम्बर–७ भिङगिठेमा ग १ ज ५२१९ नम्बरको जिप दुर्घटनामा १४ जनाको मृत्यु भएको छ ।

इस्मा गाउँपालिका वडा नम्बर–४ कल्याराबाट बागलुङको निसीखोला गाउँपालिका लागि छुटेको जिप दुर्घटना हुँदा एक जना बच्चासहित १४ जनाको घटनास्थलमै मृत्यु भएको छ भने तीन जना गम्भीर घाइते भएको प्रहरीले बताएको छ ।

दुर्घटनामा मृत्यु हुनेमा गुल्मीको इस्मा गाउँपालिका–४ का ३० वर्षीय सूचना कार्की, जिप चालक रेश्म थापा, ४० वर्षीय वसुन्धरा कार्की, २३ वर्षीय माया थापा, ४० वर्षीय सीता कार्की, दुई वर्षीय अनुशा कार्की, ६५ वर्षीय झवी कार्की, ४० वर्षीय महेन्द्र कार्की, ४५ वर्षीय भूमि कार्की, २५ वर्षीय मिना बस्नेत, ६५ वर्षीय धन बहादुर कार्की, बागलुङको बढिगाड गाउँपालिका–५ का ५५ बर्षीया लक्ष्मी केसी, नवलपरासी बर्दघाट नगरपालिका–२ का ६० वर्षीय मुना कार्की, कञ्चनपुरका ५५ वर्षीय धनबहादुर कार्की रहेका छन् ।

दुर्घटनामा घाइते हुनेमा नवलपरासी बर्दघाट नगरपालिका–२ का २२ वर्षीयका जीवन कार्की, इस्मा गाउँपालिका–४ का ४ वर्षीय हिमाल कार्की र सोही गाउँपालिका ४ बस्ने २३ वर्षीय मिना केसी को अवस्था गम्भीर रहेको छ भने इस्मा गाउँपालिका–४ का धनबहादुर कार्की बेपत्ता छन् ।

गुल्मीको इस्माबाट २४ जना जिपमा सवार रहेको र बिचमा प्रहरीले केहीलाई गाडीबाट झारेर अर्कोमा पठाएको थियो । दूर्घटनाग्रस्त जिपमा १८ जना सवार रहेको बताइएको छ ।

गुल्मीबाट कुल पूजाका लागि बागलुङको निसीखोला गाउँपालिका हिँडेका थिए घाइतेहरूलाई गुल्मी क्षेत्र नं २ का सांसद एवं पूर्व मन्त्री गोकर्ण विष्टले हेलिकप्टरमार्फत काठमाडौँ लगिएको प्रहरीले बताए ।

प्रतिक्रिया दिनुहोस्