सुन्दरहरैँचामा प्रथम शैक्षिक महोत्सव हुँदै : ८७ विद्यालयका ३६ हजारभन्दा बढी विद्यार्थी सहभागी हुने


विराटचोक, मोरङ । सुन्दरहरैँचा नगरपालिकाले नगरको शैक्षिक पहिचानलाई थप सुदृढ बनाउने उद्देश्यसहित ‘प्रथम सुन्दरहरैँचा शैक्षिक महोत्सव-२०८२’ आयोजना गर्ने भएको छ । पत्रकार सम्मेलनमार्फत नगरपालिकाले महोत्सवको तयारी अन्तिम चरणमा पुगेको जानकारी दिएको हो ।

“ज्ञान र सिपको उत्सव, सुन्दरहरैँचा शैक्षिक महोत्सव” भन्ने मूल नाराका साथ आयोजना हुन लागेको यस महोत्सवले विद्यार्थीमा आत्मविश्वास र प्रस्तुति क्षमता अभिवृद्धि गर्नुका साथै विद्यालयहरूबिच स्वस्थ प्रतिस्पर्धा विकास गर्ने लक्ष्य लिएको छ । नगरपालिकाको आर्थिक वर्ष २०८२/०८३ को १६औँ नगरसभाबाट पारित वार्षिक नगर विकास योजनाअन्तर्गत विनियोजित बजेटबाट महोत्सव सञ्चालन हुन लागेको हो ।

सुन्दरहरैँचा नगरपालिकाका अनुसार नगरभित्रका धार्मिक, सामुदायिक तथा संस्थागत गरी कुल ८७ विद्यालयको प्रत्यक्ष सहभागिता रहने महोत्सवमा ३६ हजार १५४ विद्यार्थी सहभागी हुने अनुमान गरिएको छ । शिक्षकको निर्देशनमा विद्यार्थीहरूले तयार पारेका पाठ्यक्रम तथा सिकाइसँग सम्बन्धित विविध शैक्षिक सामग्रीहरूको प्रदर्शनी गरिनेछ । महोत्सव अवधिभर करिब १ लाख ५० हजार व्यक्तिले प्रत्यक्ष अवलोकन गर्ने तथा छिमेकी जिल्ला र स्थानीय तहबाट करिब १० हजार आगन्तुक सहभागी हुने अपेक्षा गरिएको छ । साथै, लाइभ प्रसारण र विभिन्न सञ्चार माध्यममार्फत देश–विदेशमा रहेका अभिभावक तथा सरोकारवालाले पनि महोत्सव अवलोकन गर्न सक्ने व्यवस्था मिलाइएको छ ।

फाल्गुण ४ गते बिहान ११ बजे उद्घाटन हुने महोत्सव ४, ५ र ६ गते बिहान ८ बजेदेखि बेलुका ५ बजेसम्म सञ्चालन हुनेछ भने समापन कार्यक्रम फाल्गुण ६ गते दिउँसो २ बजे हुनेछ । महोत्सवमा भाषा तथा साहित्य, गणित तथा तर्कशक्ति, विज्ञान तथा प्रविधि, सामाजिक अध्ययन तथा नागरिक शिक्षा, वातावरण, स्वास्थ्य तथा पोषण, उद्यम र व्यावसायिक सिप लगायतका विषयगत प्रदर्शनी रहनेछन् । प्रारम्भिक बाल विकाससम्बन्धी सामग्री, विद्यार्थीका जातीय सांस्कृतिक झाँकी, प्रत्यक्ष चित्रकला, भर्चुअल रियालिटी अवलोकन, प्लानेटेरियम, नमुना निर्वाचन, नमुना संसदीय अभ्यास र नमुना इजलास जस्ता कार्यक्रमले महोत्सवलाई थप आकर्षक बनाउने आयोजकको विश्वास छ ।  सुन्दरहरैँचा नगरपालिकाका अनुसार कविता, निबन्ध वाचन तथा नाटक प्रदर्शन जस्ता सिर्जनात्मक प्रस्तुति पनि समावेश गरिनेछन् ।

महोत्सवअन्तर्गत दुई चरणमा प्यानल छलफल कार्यक्रमसमेत आयोजना गरिनेछ । पहिलो दिन ‘सुन्दरहरैँचामा विद्यालय शिक्षाको वर्तमान अवस्था, समस्या र चुनौती’ विषयमा शिक्षा क्षेत्रका विज्ञ, क्याम्पस प्रमुख तथा प्रधानाध्यापकहरूबिच छलफल हुनेछ । दोस्रो दिन ‘ज्ञान, सिप, प्रविधि र उद्यमशीलतायुक्त शिक्षाका लागि सुन्दरहरैँचामा अबको शिक्षा’ विषयमा बहस हुनेछ, जसमा शिक्षा निर्देशनालयका प्रतिनिधि, नगर प्रमुख, शिक्षक महासङ्घका पदाधिकारी तथा शिक्षाविद्हरू सहभागी हुनेछन् ।

महोत्सव सञ्चालनका लागि नगर प्रमुख केदारप्रसाद गुरागाईँको संयोजकत्वमा विभिन्न विषयगत तथा व्यवस्थापन समिति गठन गरी जिम्मेवारी बाँडफाँट गरिएको छ । स्टेज तथा स्टल व्यवस्थापन, सुरक्षा, अतिथि सत्कार, सञ्चार समन्वय, सरसफाइ, हेल्थ डेस्कदेखि लिएर उद्घाटन र समापन कार्यक्रम व्यवस्थापनसम्मका लागि छुट्टाछुट्टै उपसमिति सक्रिय छन् ।

लागत अनुमानअनुसार नगरपालिकाबाट करिब ३५ लाख रुपैयाँ, विद्यालयहरूबाट करिब १ करोड रुपैयाँ तथा सहयोगी संघ-संस्थाबाट करिब १५ लाख रुपैयाँ व्यय हुने अपेक्षा गरिएको छ । नगरपालिकाले पत्रकार तथा सञ्चारमाध्यमलाई महोत्सवको सूचना व्यापक रूपमा प्रसार गरी विद्यार्थी तथा शिक्षकका प्रतिभालाई प्राथमिकताका साथ प्रकाशन-प्रसारण गर्न अनुरोध गरेको छ ।

सुन्दरहरैँचाको शैक्षिक इतिहासमै पहिलो पटक आयोजना हुन लागेको यो महोत्सवले विद्यालय शिक्षाको गुणस्तर, नवप्रवर्तन र उद्यमशीलतामुखी अभ्यासलाई उजागर गर्दै नगरको समग्र शैक्षिक अवस्थालाई राष्ट्रिय स्तरमा परिचित गराउने अपेक्षा गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्