केराबारीमा चौथो मच्छिन्द्र गोल्डकप फुटबल प्रतियोगिता माघ २८ देखि


मोरङ । “स्वास्थ्यका लागि खेलकुद, राष्ट्रका लागि खेलकुद” भन्ने मूल नारालाई आत्मसात् गर्दै मोरङको केराबारीमा चौथो मच्छिन्द्र गोल्डकप फुटबल प्रतियोगिता आयोजना हुने भएको छ । केराबारी फुटबल क्लबको पहल तथा केराबारी गाउँपालिका कार्यालयको सहकार्यमा सञ्चालन हुने प्रतियोगिता २०८२ साल माघ २८ गतेदेखि फागुन ६ गतेसम्म हुने आयोजकले जनाएको छ ।

स्थानीय खेलकुद प्रवर्द्धन र युवा खेलाडीलाई प्रतिस्पर्धात्मक मञ्च प्रदान गर्ने उद्देश्यले आयोजना गरिएको प्रतियोगिताले केराबारी क्षेत्रलाई खेलकुदको केन्द्रका रूपमा स्थापित गर्न टेवा पुग्ने विश्वास लिइएको छ । प्रतियोगितामा विभिन्न टिमहरूबिच प्रतिस्पर्धा हुने र दर्शकलाई रोमाञ्चक खेल हेर्ने अवसर मिल्ने अपेक्षा गरिएको छ ।

प्रतियोगितामा प्रथम हुने टोलीलाई रु. ४ लाख नगद पुरस्कार प्रदान गरिनेछ भने उपविजेताले रु. २ लाख प्राप्त गर्नेछ । व्यक्तिगत उत्कृष्ट प्रदर्शन गर्ने खेलाडीहरूलाई पनि आकर्षक विधागत पुरस्कारको व्यवस्था गरिएको छ । प्रत्येक खेलमा ‘म्यान अफ द म्याच’ घोषित खेलाडीलाई रु. ५,५०० प्रदान गरिनेछ । उत्कृष्ट प्रशिक्षक, उत्कृष्ट गोलकिपर, उत्कृष्ट डिफेन्डर, उत्कृष्ट मिडफिल्डर र उत्कृष्ट स्ट्राइकरलाई जनही रु. ११ हजार नगद पुरस्कार प्रदान गरिनेछ। सर्वाधिक गोलकर्ता र उदाउँदो खेलाडीलाई पनि रु. ११ हजार प्रदान गरिनेछ भने प्रतियोगिताकै सर्वोत्कृष्ट खेलाडीलाई रु. २५ हजार नगद पुरस्कार प्रदान गरिने आयोजकले जनाएको छ ।

आयोजक केराबारी फुटबल क्लब र केराबारी गाउँपालिकाले प्रतियोगिता सफलतापूर्वक सम्पन्न गर्न सम्पूर्ण तयारी तीव्र पारेको जनाएका छन् । प्रतियोगिताले स्थानीय स्तरमा खेलकुद संस्कृतिको विकास गर्नुका साथै युवामा अनुशासन, सहकार्य र स्वास्थ्यप्रति सकारात्मक चेतना अभिवृद्धि गर्ने विश्वास व्यक्त गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्