पथरी जेसिजद्वारा सहिद स्मृतिमा दीप प्रज्वलन, शान्ति र मानवताको सन्देश


सङ्गीता राई – मोरङ । सहिद दिवसको अवसर पारेर पथरी जेसिजले ज्ञात तथा अज्ञात सहिदहरूको स्मरणमा दीप प्रज्वलन कार्यक्रम सम्पन्न गरेको छ। शुक्रवार साँझ पथरीशनिश्चिरे नगरपालिका वडा नं. १ मा आयोजित कार्यक्रममा सहिदहरूको सम्मान गर्दै उनीहरूको बलिदानप्रति श्रद्धाञ्जली अर्पण गरिएको हो ।

कार्यक्रममा सहभागीहरूले राष्ट्र, लोकतन्त्र र संघीय लोकतान्त्रिक गणतन्त्र नेपाल स्थापनाका लागि सहिदहरूले दिएको योगदानलाई स्मरण गर्दै उनीहरूको त्याग र समर्पणको उच्च कदर गरेका थिए । दीप प्रज्वलनसँगै शान्ति, एकता र मानवताको सन्देश प्रवाह गर्ने उद्देश्यले कार्यक्रम आयोजना गरिएको पथरी जेसिजले जनाएको छ । अबको समाज यस्तो बन्नुपर्छ जहाँ कसैलाई पनि सहिद बन्नुपर्ने अवस्था नआओस् भन्ने भावनासहित शान्तिपूर्ण र न्यायपूर्ण समाज निर्माणको प्रतिबद्धता व्यक्त गरिएको थियो ।

कार्यक्रममा पथरी जेसिज वर्ष २०२४ का अध्यक्ष जेसिआइ सिनेटर राजकुमार विश्वकर्मा, समाजसेवी प्रदीप राई लगायतको उपस्थिति रहेको थियो । त्यसै गरी पथरी जेसिजका संस्थापक अध्यक्ष तथा नेपाल जेसिज वर्ष २०२० का राष्ट्रिय अध्यक्ष जेसिआइ सिनेटर अशोक शङ्कर पनि कार्यक्रममा सहभागी भएका थिए । वक्ताहरूले सहिदहरूको बलिदानकै आधारमा आजका लोकतान्त्रिक उपलब्धिहरू सम्भव भएको उल्लेख गर्दै नयाँ पुस्ताले सहिदहरूको सपना साकार पार्न इमानदार, जिम्मेवार र देशप्रेमी नागरिक बन्नुपर्नेमा जोड दिएका थिए ।

पथरी जेसिज कार्यक्रम वर्ष २०२६ का अध्यक्ष सुमन कुरुम्बाङको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रममा जेसिज सदस्यहरू, सामाजिक अभियन्ता तथा स्थानीय व्यक्तित्वहरूको उल्लेख्य उपस्थिति रहेको थियो । कार्यक्रम रीता कुलुङको संयोजकत्वमा सम्पन्न भएको हो ।

प्रतिक्रिया दिनुहोस्