बेलबारी । जाडोयामको कठ्यांग्रिँदो चिसोसँगै आर्थिक अभावका कारण थप कठिनाइ भोगिरहेका परिवारका लागि नलबारी युवा समाजले मानवीय सहकार्यको उदाहरण प्रस्तुत गरेको छ । बेलबारी नगरपालिका वडा नं. ९ अन्तर्गत नलबारी क्षेत्रमा सक्रिय नलबारी युवा समाजले कतारस्थित नलबारी युवा समूहको आर्थिक सहयोग र स्थानीय युवाहरूको सक्रिय पहलमा विपन्न परिवारलाई सिरक र डसना वितरण गरेको हो ।
साविक डाँगीहाट ९ मा स्थायी रूपमा बसोबास गर्दै आएका आर्थिक रूपमा कमजोर २६ घरपरिवारलाई लक्षित गरी कुल एक लाख सत्र हजार रुपैयाँ (रु. १,१७,०००) बराबरको सहयोग सामग्री वितरण गरिएको आयोजकले जनाएको छ । जाडोको मौसममा न्यून आय भएका परिवारलाई न्यानोको अनुभूति दिलाउने उद्देश्यसहित कार्यक्रम आयोजना गरिएको हो ।
राहत वितरण कार्यक्रम शनिबार श्री ज्ञानोपार्जन आधारभूत विद्यालय, बेलाइगाउँ परिसरमा सम्पन्न भएको हो । कार्यक्रममा बेलबारी नगरपालिका वडा नं. ९ का वडा अध्यक्ष सालिग्राम बस्नेतसहित स्थानीय समाजसेवी, युवा अभियन्ता र समुदायका प्रतिनिधिहरूको उपस्थिति रहेको थियो । सहयोग सामग्री प्राप्त गरेका परिवारहरूले युवाहरूको सक्रियता र वैदेशिक रोजगारीमा रहेका नलबारीवासीको सहयोगप्रति कृतज्ञता व्यक्त गरेका छन् ।
२००८ सालमा स्थापना भएको नलबारी युवा समाजले शिक्षा, स्वास्थ्य, विपद् व्यवस्थापन तथा सामाजिक सेवाका क्षेत्रमा निरन्तर योगदान दिँदै आएको छ । यसपटकको राहत वितरण कार्यक्रममा मुख्य प्रायोजकका रूपमा कतारस्थित बेलबारी ९ नलबारी युवा समूह रहेको थियो भने कार्यक्रमको सम्पूर्ण आयोजना नलबारी युवा समाज बेलबारी ९, नलबारी चौकले गरेको हो ।


