कानेपोखरी गाउँपालिकाबाटै करसम्बन्धी सेवा शुभारम्भ : करदातालाई सहजता


कानेपोखरी । साबिक करदाता सेवा कार्यालयबाट प्रदान हुँदै आएका करसम्बन्धी सेवाहरू अब कानेपोखरी गाउँपालिकामै उपलब्ध हुने भएका छन् । उक्त सेवाको औपचारिक शुभारम्भ माघ २ गते शुक्रवार कानेपोखरी गाउँपालिका–भौसाबारीमा आयोजित सेवा शुभारम्भ कार्यक्रममार्फत गरिएको हो ।

कानेपोखरी गाउँपालिका, मोरङको आयोजनामा तथा आन्तरिक राजस्व कार्यालय, दमक र करदाता सेवा कार्यालय, पथरीको सहकार्यमा सञ्चालन गरिएको यस सेवाबाट स्थानीय करदाताले अब कर दर्ता, विवरण बुझाउने, परामर्शलगायतका सेवाहरू आफ्नै पालिकाबाट सहज रूपमा प्राप्त गर्न सक्नेछन् । यसले करदाताको समय, खर्च र झन्झट घटाउँदै कर प्रणालीलाई थप सरल, पारदर्शी र पहुँचयोग्य बनाउने अपेक्षा गरिएको छ ।

“कर प्रणालीको सार, लगानीको आधार” भन्ने मूल नारासहित सञ्चालन गरिएको यस कार्यक्रमले कर संस्कृतिको विकास, लगानीमैत्री वातावरण सिर्जना तथा स्थानीय आर्थिक गतिविधिलाई सुदृढ बनाउने लक्ष्य लिएको आयोजकले जनाएको छ । सेवा स्थानीय तहबाटै प्रवाह हुँदा व्यवसायी, उद्यमी तथा सर्वसाधारण करदातालाई प्रत्यक्ष लाभ पुग्ने विश्वास लिइएको छ ।

सेवा शुभारम्भ कार्यक्रममा जनप्रतिनिधि, सरकारी कार्यालयका प्रतिनिधि, व्यवसायी, करदाता तथा सरोकारवाला निकायको सहभागिता रहेको थियो । कार्यक्रममा कानेपोखरी गाउँपालिकाकी अध्यक्ष राजमती इङ्गनामले उत्कृष्ट कर तिर्ने करदातालाई सम्मान गर्ने प्रतिबद्धता व्यक्त गरिन् । अब दमक वा विराटनगर पुगेर कर तिर्नुपर्ने बाध्यता अन्त्य भएको उल्लेख गर्दै उनले कर तिर्नु अनिवार्य रहेको विषयमा जनचेतना अभिवृद्धि गर्न आग्रह गरिन् । कर शिक्षासम्बन्धी तालिम तथा जनचेतनामूलक कार्यक्रमसमेत सञ्चालन गरिने जानकारी दिइयो ।

प्रमुख प्रशासकीय अधिकृत हिराकुमारी यादवले नयाँ सेवाबारे जानकारी एक–आपसमा सम्प्रेषण गर्न आग्रह गर्दै पालिकाभित्रका सबै वडासम्म सूचनाको प्रभावकारी प्रवाह आवश्यक रहेको बताइन् । कार्यक्रममा सहभागी वक्ताहरूले कर तिर्न टाढा जानुपर्ने बाध्यता हटेकामा खुशी व्यक्त गर्दै यसलाई महत्त्वपूर्ण उपलब्धिका रूपमा उल्लेख गरेका छन् । साथै, मालपोतसम्बन्धी सेवा विस्तारको आवश्यकता पनि औँल्याइएका थियो ।

करसम्बन्धी सेवा प्रवाहका लागि आन्तरिक राजस्व कार्यालय दमक, झापा र कानेपोखरी गाउँपालिका, मोरङबिच पुष २ गते बुधवार समझदारीपत्रमा हस्ताक्षर भएको थियो । उक्त समझदारी नेपाल सरकारको कात्तिक १७ गतेको निर्णयअनुसार गरिएको हो ।

समझदारीअनुसार कानेपोखरी गाउँपालिकाले आफ्नो क्षेत्रभित्र बसोबास गर्ने प्राकृतिक व्यक्तिहरूलाई व्यक्तिगत स्थायी लेखा नम्बर (PAN) जारी गर्नेछ । स्थानीय ठेगानामा दर्ता भएका व्यवसाय तथा निकायलाई व्यावसायिक स्थायी लेखा नम्बर उपलब्ध गराइने व्यवस्था गरिएको छ । मूल्य अभिवृद्धि करमा दर्ता हुन चाहने व्यवसाय तथा निकायका निवेदन आवश्यक कागजात भिडान गरी सम्बन्धित आन्तरिक राजस्व कार्यालयमा सिफारिस गर्ने र दर्ता प्रमाणपत्र उपलब्ध गराउने प्रावधान पनि समावेश गरिएको छ ।

अन्तःशुल्क इजाजतपत्र आवश्यक पर्ने व्यवसायका हकमा नयाँ इजाजतपत्र तथा नवीकरणका लागि सिफारिस, कर चुक्ता प्रमाणपत्र उपलब्ध गराउने, करदाताको दर्तासम्बन्धी विवरण संशोधन गर्ने जिम्मेवारीसमेत स्थानीय तहलाई दिइएको छ । साथै आयकर, मूल्य अभिवृद्धि कर र अन्तःशुल्कसम्बन्धी कानुन तथा प्रक्रियाबारे करदाता शिक्षा र अन्तरक्रिया कार्यक्रम सञ्चालन गरिनेछ ।

सम्झौताअनुसार सबै सेवा आन्तरिक राजस्व विभागद्वारा सञ्चालित ‘इन्टिग्रेटेड ट्याक्स सिस्टम’ प्रयोग गरी प्रदान गरिनेछ । सेवा सञ्चालनका लागि आवश्यक स्रोतसाधन र जनशक्तिको व्यवस्थापन कानेपोखरी गाउँपालिकाले गर्नेछ भने कर तथा कानुनले तोकेका शुल्कबाहेक अतिरिक्त सेवा शुल्क लिन नपाइने व्यवस्था गरिएको छ ।

इन्टिग्रेटेड ट्याक्स सिस्टम सञ्चालनका लागि आवश्यक युजर, पासवर्ड, कर्मचारी तालिम तथा प्राविधिक सहजीकरण आन्तरिक राजस्व कार्यालय दमकले उपलब्ध गराउनेछ । सेवा प्रभावकारी बनाउन दुवै पक्षबाट एक–एक जना जिम्मेवार कर्मचारीलाई फोकल पर्सनका रूपमा तोकिने व्यवस्था पनि गरिएको छ । सम्झौतामा सेवा अवरुद्ध भएमा तत्काल जानकारी गराउनुपर्ने तथा नेपाल सरकारबाट वैकल्पिक व्यवस्था लागू भएमा समझदारी स्वतः निष्क्रिय हुने प्रावधानसमेत समावेश गरिएको छ ।

यस समझदारीसँगै कानेपोखरी गाउँपालिकाभित्रका करदाताले स्थानीय तहबाटै करसम्बन्धी सेवा प्राप्त गर्न सक्ने भएपछि सेवा पहुँचमा उल्लेख्य सुधार आउने विश्वास गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्