काठमाडौँ । इन्डियन आइडलका विजेता, चर्चित गायक तथा अभिनेता प्रशान्त तामाङको ४२ वर्षको उमेरमा हृदयाघातका कारण निधन भएको छ । आइतबार बिहान नयाँ दिल्लीको द्वारकास्थित एक अस्पतालमा पुर्याए लगत्तै चिकित्सकले उनलाई मृत घोषणा गरेका हुन् ।
उनको निधनको खबर निर्माता राजेश वंशलले तामाङकी श्रीमतीलाई उद्धृत गर्दै पुष्टि गरेका छन् । ‘मेरो तीन दिनअघि मात्र उहाँसँग कुरा भएको थियो । आज अचानक निधनको खबर सुन्दा पत्याउन सकिरहेको छैन,’ वंशलले बताए। परिवारका अनुसार तामाङलाई अचानक हृदयाघात भएको थियो ।
भारतीय मूलका नेपाली भाषी गायक प्रशान्त तामाङ पछिल्लो समय सलमान खान अभिनीत फिल्म ‘ब्याटल अफ गलवान’ मा अभिनयरत थिए, जसको केही डबिङ अझै बाँकी रहेको बताइएको छ । उनी हालै अरुणाचल प्रदेशमा कार्यक्रम सकेर दिल्ली फर्किएका थिए। निधनअघि उनलाई कुनै गम्भीर स्वास्थ्य समस्या देखिएको थिएन ।
४ जनवरी १९८३ मा पश्चिम बंगालको दार्जिलिङमा जन्मिएका तामाङले साधारण पृष्ठभूमिबाट संघर्ष गर्दै असाधारण सफलता हासिल गरेका थिए । सानै उमेरमा पिताको निधनपछि परिवारको जिम्मेवारी सम्हाल्न उनले कोलकाता प्रहरीमा कन्स्टेबलका रूपमा सेवा गरेका थिए । प्रहरी ब्याण्डमा गीत गाउँदै संगीत यात्रालाई निरन्तरता दिइरहेका उनले सन् २००७ मा इन्डियन आइडल सिजन-३ मा सहभागिता जनाएपछि जीवनले नयाँ मोड लियो । अन्ततः प्रतियोगिता जित्दै उनले भारतसहित विश्वभर रहेका नेपाली समुदायको मन जिते ।
इन्डियन आइडल जितेपछि तामाङको सफलता गोर्खा तथा नेपाली भाषी समुदायका लागि गर्वको विषय बनेको थियो। संगीत क्षेत्रमा स्थापित भएपछि उनले थुप्रै एल्बम सार्वजनिक गरे भने नेपाली फिल्म ‘गोर्खा पल्टन’, ‘परदेशी’, ‘परदेशी २’ लगायतमा अभिनय गरेका थिए । पछिल्लो समय उनले भारतीय वेब सिरिज ‘पाताल लोक-२’ मा समेत अभिनय गरेका थिए ।
फिल्मकर्मी राजेश घतानीका अनुसार, ‘आज जति पनि नेपाली कलाकार ठुला मञ्च र रियालिटी शोमा पुग्ने आँट गर्छन्, त्यसको प्रेरणा प्रशान्त तामाङ नै हुन् ।’ गायक प्रमोद खरेललगायत थुप्रै कलाकारहरूले सामाजिक सञ्जालमार्फत तामाङप्रति श्रद्धाञ्जली अर्पण गर्दै उनको निधनले नेपाली संगीत क्षेत्रमा अपूरणीय क्षति पुगेको बताएका छन् ।
‘ब्याटल अफ गलवान’मा सह-अभिनेता अनुपविक्रम शाहीले तामाङलाई कुशल गायक मात्र नभई क्षमतावान र मिलनसार अभिनेताका रूपमा सम्झँदै अचानक आएको यो खबर पत्याउन गाह्रो भएको बताएका छन् । प्रशान्त तामाङका श्रीमती र एक छोरी छन् । उनी दिल्लीको जनकपुरी क्षेत्रमा बस्दै आएका थिए । उनका अन्त्येष्टि दार्जिलिङमा गर्ने कि दिल्लीमै गर्ने भन्नेबारे परिवारले निर्णय गरिसकेको छैन ।
संगीत र अभिनयमार्फत नेपाली पहिचानलाई अन्तर्राष्ट्रिय मञ्चमा चिनाएका प्रशान्त तामाङको असामयिक निधनले नेपाली संगीत तथा चलचित्र क्षेत्र शोकमा डुबेको छ । उनका गीत, आवाज र योगदान सधैँ श्रोताको मनमा जीवित रहने कलाकारहरू बताउँछन् ।


