दोस्रो दिन ‘चलचित्रबाट ग्रामीण समृद्धि तर्फको यात्रा’ : साँझ ‘दि फिरन्ते’को विशेष प्रस्तुति


मोरङ । दोस्रो बेलबारी महोत्सव-२०८२ को दोस्रो दिन चलचित्रमार्फत ग्रामीण विकास र समृद्धिका सम्भावनालाई केन्द्रमा राखेर विशेष कार्यक्रम आयोजना हुने भएको छ । ‘चलचित्रबाट ग्रामीण समृद्धि तर्फको यात्रा’ शीर्षकमा सञ्चालन हुने उक्त कार्यक्रम पुष २६ गते शनिवार बेलबारी महोत्सव स्थलमा हुने आयोजकले जनाएको छ ।

दिउँसो १२ बजेदेखि सुरु हुने कार्यक्रममा चर्चित चलचित्र निर्माता विशाल भण्डारी प्रमुख वक्ताका रूपमा सहभागी हुनेछन् । कार्यक्रमको सहजीकरण जे.बी. थुलुङले गर्नेछन् । कार्यक्रममा चलचित्रले ग्रामीण अर्थतन्त्र, स्थानीय पहिचान, संस्कृति र पर्यटन प्रवर्द्धनमा पुर्‍याउन सक्ने योगदानबारे छलफल गरिने जनाइएको छ ।

आयोजकका अनुसार यो कार्यक्रमले ग्रामीण क्षेत्रका युवाहरूलाई चलचित्र तथा सिर्जनात्मक उद्योगमार्फत रोजगारी र उद्यमशीलताका अवसरतर्फ आकर्षित गर्ने लक्ष्य राखेको छ । स्थानीय कथा, भूगोल र संस्कृतिलाई दृश्य माध्यमबाट प्रस्तुत गर्दै आर्थिक समृद्धिसँग कसरी जोड्न सकिन्छ भन्ने विषयमा सहभागीहरूबिच अन्तरक्रिया हुने बताइएको छ ।

यसै गरी, महोत्सवको दोस्रो दिनको साँझ दर्शकहरूको मनोरञ्जनका लागि चर्चित ब्यान्ड दि फिरन्तेको प्रमुख साङ्गीतिक प्रस्तुति पनि रहनेछ ।

प्रतिक्रिया दिनुहोस्