कोशी प्रदेश सरकारको मन्त्रिमण्डल पुनर्गठन : नवनियुक्त मन्त्री र राज्यमन्त्रीको शपथ सम्पन्न


विराटनगर । कोशी प्रदेश सरकारको मन्त्रिमण्डल पुनर्गठन गरिएको छ। मुख्यमन्त्री हिक्मत कुमार कार्कीले आज मन्त्रिमण्डल पुनर्गठन गर्दै नयाँ मन्त्री तथा राज्यमन्त्री नियुक्त गरेका हुन् । नवनियुक्त मन्त्री र राज्यमन्त्रीहरूले शुक्रवार प्रदेश प्रमुख पर्शुराम खापुङको उपस्थितिमा प्रदेश प्रमुखको कार्यालयमा पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन् ।

मन्त्रिमण्डल पुनर्गठनसँगै प्रदेश सरकारमा एमाले र माओवादी केन्द्र बिचको सहकार्यअनुसार मन्त्रालयहरूको जिम्मेवारी बाँडफाँड गरिएको छ । विस्तारित मन्त्रिमण्डलअनुसार मुख्यमन्त्री हिक्मत कुमार कार्कीले मुख्यमन्त्री तथा मन्त्रिपरिषद्‌को कार्यालयको जिम्मेवारी सम्हालेका छन् । भौतिक पूर्वाधार विकास मन्त्रालयको जिम्मेवारी प्रदीप कुमार सुनुवारलाई दिइएको छ भने पर्यटन, वन तथा वातावरण मन्त्रालय भीम पराजुलीको कार्यभारमा रहेको छ। खानेपानी, सिँचाइ तथा ऊर्जा मन्त्रालय तिलचन पाठकलाई दिइएको छ ।

आन्तरिक मामिला तथा कानुन मन्त्रालयको जिम्मेवारी इन्द्रमणि पराजुलीलाई प्रदान गरिएको छ भने आर्थिक मामिला तथा योजना मन्त्रालयको नेतृत्व विदुरकुमार लिंथेपले सम्हालेका छन् । सामाजिक विकास मन्त्रालय रामप्रसाद महतोको जिम्मेवारीमा रहेको छ भने स्वास्थ्य मन्त्रालय मानबहादुर लिम्बुलाई दिइएको छ । उद्योग, कृषि तथा सहकारी मन्त्रालय इस्राईल मन्सुरीको कार्यभारमा रहेको छ ।

यसै गरी, आन्तरिक मामिला तथा कानुन मन्त्रालयका लागि उमाकान्त गौतम र भौतिक पूर्वाधार विकास मन्त्रालयका लागि शोभा चेम्जोङलाई राज्यमन्त्री नियुक्त गरिएको छ । प्रदेशमा नौवटा मन्त्रालय रहेका छन् भने सत्तारूढ दलहरूबिचको भागबन्डाअनुसार मन्त्रिमण्डल विस्तार गरिएको जनाइएको छ ।

प्रतिक्रिया दिनुहोस्