बेलबारीमा कुलुङ समुदायले मनाए चाक्चाकूर : पहिचान र संस्कृतिको संरक्षणमा जोड


बेलबारी । मोरङका कुलुङ समुदायले आफ्नो मौलिक परम्परा र सांस्कृतिक पहिचान झल्किने चाड चाक्चाकूर शनिवार भव्य रूपमा मनाएका छन् । मिनारी दाचाम चासूमलो निङदोङ चाक्चाकूर येलेदोङ ५०८६ का अवसरमा नेपाल किरात कुलुङ भाषा संस्कृति उत्थान संघ, जिल्ला समन्वय समिति मोरङको आयोजनामा बेलबारी नगरपालिका-११ स्थित धार्मिक वन क्षेत्रमा कार्यक्रम सम्पन्न भएको हो ।

पहिचान र आत्मनिर्णयको अधिकार, सहअस्तित्व र समानान्तर आभार भन्ने मूल नारासहित आयोजित कार्यक्रममा शुभकामना आदानप्रदानसँगै कुलुङ समुदायका मौलिक सांस्कृतिक नृत्य, परम्परागत पूजा-विधि र संस्कारहरू प्रस्तुत गरिएका थिए । कार्यक्रममा सहभागीहरूले चाक्चाकूर पर्वले कुलुङ समुदायको ऐतिहासिक चेतना, प्रकृतिसँगको गहिरो सम्बन्ध र सामाजिक एकतालाई जीवन्त रूपमा प्रतिबिम्बित गर्ने धारणा व्यक्त गरे ।

कार्यक्रममा बेलबारी नगरपालिकाका नगर प्रमुख दिल प्रसाद राई, साल्पासिलिछो गाउँपालिकाका अध्यक्ष तथा कुलुङ संघका वरिष्ठ उपाध्यक्ष दोलत कुलुङ, किराया उपाध्यक्ष तथा आदिवासी जनजाति महासंघका मुख्य सचिव तिलक प्रसाद राई, कुलुङ संघ केन्द्रीय सदस्य अशोक कुलुङ, बेलबारी नगरपालिकाकी लेखा प्रमुख धानमाया राईलगायत विभिन्न क्षेत्रका प्रतिनिधि र समुदायका अगुवाहरूको उल्लेखनीय उपस्थिति रहेको थियो । अतिथिहरूले कुलुङ समुदायको भाषा, संस्कृति र पहिचान संरक्षणमा राज्यको दृष्टि गम्भीर र जिम्मेवार हुनुपर्ने आवश्यकता औँल्याउँदै स्थानीय तहदेखि संघीय सरकारसम्मको सहकार्य अपरिहार्य रहेको बताएका थिए ।

जिल्ला समन्वय समिति मोरङले कुलुङ जातिलाई आदिवासी जनजातिको सूचिमा सूचीकृत गर्न सरकारसँग माग गर्दै कुलुङ समुदायको पहिचान, भाषा, संस्कार-संस्कृति र समग्र अस्तित्व संरक्षणका लागि नीतिगत तथा संस्थागत सहयोग आवश्यक रहेको स्पष्ट पारेको छ । वक्ताहरूले आधुनिक प्रविधिसँग समाज अघि बढ्दै गए पनि मौलिक पहिचान र सांस्कृतिक मूल्यको संरक्षणमा कुलुङ समुदाय स्वयं सचेत र सक्रिय हुनुपर्नेमा जोड दिएका छन् ।

कार्यक्रममा सहभागीहरूले चाक्चाकूर जस्ता पर्वहरूले नयाँ पुस्तालाई आफ्नो इतिहास, संस्कार र पहिचानसँग जोड्ने महत्त्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गर्दै यस्ता सांस्कृतिक कार्यक्रमलाई निरन्तरता दिनु आवश्यक रहेको बताएका छन् । कार्यक्रमका क्रममा नेपाल किरात कुलुङ भाषा संस्कृति उत्थान संघ, मोरङलाई विभिन्न रूपमा सहयोग पुर्‍याउने व्यक्तित्व तथा संस्थाहरूलाई सम्मान पनि गरिएको थियो। संघको भाषा, संस्कृति र पहिचान संरक्षणमा योगदान पुर्‍याएको कदरस्वरूप सम्मानित व्यक्तिहरूलाई सम्मान पत्र प्रदान गर्नुका साथै अतिथिहरूलाई पनि कुलुङ समुदायको मौलिक पहिचान झल्किने परम्परागत पोसाक अर्पण गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस्