टीकालाल धिमालको कृति ‘फाइसालाम्का गेसा’ को लोकार्पण


मोरङ । बेलबारीका स्रष्टा टीकालाल धिमालको (धिमाल भाषाको नाटकसङ्ग्रह) ‘फाइसालाम्का गेसा’ (उज्यालो कुपी) को लोकार्पण भएको छ । बेलबारी साहित्य विकास समिति र धिमाल जातीय विकास केन्द्र बेलबारी नगर समितिको संयुक्त आयोजनामा आदिवासी जनजाति सभाहलमा एक कार्यक्रम गरेर उक्त कृतिको लोकार्पण गरिएको हो ।

बेलबारी नगरपालिकाका प्रमुख दिलप्रसाद राई प्रमुख अतिथि रहेको उक्त कार्यक्रममा वरिष्ठ साहित्यकार हर्कमान तामाङ, बेलबारी नगरपालिकाका ३ नं वडाध्यक्ष योगेन्द्र सुवेदी, बेलबारीका अग्रज स्रष्टा तथा राजनीतिकर्मी इरान राई, कोसी साहित्य–कला परिषद् नेपालका अध्यक्ष केशु विरही, स्रष्टा समाजका अध्यक्ष जेबी थुलुङ, बेलबारी प्रज्ञा–प्रतिष्ठानका अध्यक्ष रेखा सुवेदी, आङ्लाबुङ साहित्य समाजका अध्यक्ष धनजित पराजुली, धिमाल जातीय विकास केन्द्रका केन्द्रीय सहअध्यक्ष केदार धिमाल, भानु साझा पुस्तकालयका अध्यक्ष पुरन याक्खालगायतका व्यक्तित्वहरूको उपस्थिति रहेको थियो । कार्यक्रममा बेलबारीका राजनीतिक तथा सामाजिक व्यक्तित्वहरूको समेत उपस्थिति रहेको थियो ।

लोकार्पित कृतिमाथि इरान राई र केशु विरहीले समीक्षा प्रस्तुत गरेका थिए । समीक्षक राईले लेखकको परिचय, नाटकले दिएको उद्देश्य तथा बेलबारीको नाटक साहित्यमा टीकालाल धिमालको भूमिकाका बारेमा चर्चा गरेका थिए । समीक्षक विरहीले टीकालालमार्फत बेलबारीले पहिलो धिमाल भाषाको कृति पाएको बताउँदै धिमाल भाषाका अतिरिक्त नेपाली भाषामा पनि अनुवाद गरिएकाले यो मौलिक र अनुवाद दुवैको कृति रहेको बताए ।

कार्यक्रममा बेलबारी नगरपालिकाका प्रमुख दिलप्रसाद राई, वरिष्ठ साहित्यकार हर्कमान तामाङ, धिमाल जातीय विकास केन्द्रका सहअध्यक्ष केदार धिमाल, केन्द्रीय सल्लाहकार कृष्णबहादुर धिमाल, बेलबारी नगरपालिका ३ नं वडाका अध्यक्ष योगेन्द्र सुवेदी, संयुक्त खस क्षेत्री समाजका केन्द्रीय उपाध्यक्ष प्रताप थापा, बेलबारी प्रज्ञा–प्रतिष्ठानका अध्यक्ष रेखा सुवेदी लगायतको शुभकामना मन्तव्य रहेको थियो । शुभकामना दिने सबैको जोड भने यसले धिमाल जातिको संस्कार संस्कृतिको जगेर्नामा ठुलो योगदान रहेको बताएका थिए ।

कार्यक्रममा तिला लेकाली र प्रकाश भट्टराईको रचना वाचन रहेको थियो । कार्यक्रममा शिव सहयात्रीले उपस्थित सबैलाई शब्दले स्वागत गरेका थिए भने बथान समूहका कलाकारको साङ्गीतिक प्रस्तुतिसमेत रहेको थियो । धिमाल जातीय विकास केन्द्र बेलबारी नगर समितिका अध्यक्ष शिवनाथ धिमालको अध्यक्षतामा सम्पन्न कार्यक्रमको सञ्चालन भने बेलबारी साहित्य विकास समितिका अध्यक्ष रमेश निरौलाको रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्