बेलबारीकी स्रष्टा तिला लेकालीको गजलसङ्ग्रह ‘आगोको रङ’ को सार्वजनिक


मोरङ । बेलबारीकी स्रष्टा तिला लेकालीको गजलसङ्ग्रह ‘आगोको रङ’ सार्वजनिक भएको छ । प्रगतिशील लेखक सङ्घ (प्रलेस) को आयोजनामा काठमाडौँमा एक कार्यक्रमका बिच उक्त कृतिको सार्वजनिक गरिएको हो ।

प्रगतिशील लेखक सङ्घका सल्लाहकार एवम् पूर्व शिक्षा मन्त्री रघुजी पन्त प्रमुख अतिथि रहेको उक्त कार्यक्रममा जगत उपाध्याय प्रेक्षित, प्राडा जिवेन्द्रदेव गिरी, मातृका पोखरेल, प्रा.डा. देवी नेपाल, शान्ता मानवी, नर्वेदेश्वरी सत्याल, डा. बमबहादुर थापा जितालीलगायतका विशिष्ट व्यक्तित्वहरूको उपस्थिति रहेको थियो । कार्यक्रममा लोकाप्रित कृतिमाथि साहित्यकार हरि सिलवालले समीक्षा प्रस्तुत गरेका थिए ।

प्रलेस अध्यक्ष डा. देवी क्षेत्री दुलालको अध्यक्षतामा सम्पन्न कार्यक्रमको सञ्चालन भने महासचिव झपिन्द्र ढकाल (पारस) को रहेको थियो । २०५९ सालमा जनउन्मुख पत्रिकामा ‘मलाई मनपर्छ’ शीर्षकको कविता प्रकाशित गरेर नेपाली साहित्यमा औपचारिक रूपमा प्रवेश गरेकी लेकाली कविताका अतिरिक्त गजल, हाइकु,, मुक्तक, गीत तथा बालसाहित्य विधामा कला चलाउँदै आएकी छन् ।

उनका यसअघि नै पर्खालभित्र (हाइकुसङ्ग्रह-२०६५),चक्रव्यूहमा उभिएर (गजलसङ्ग्रह-२०७०),झ्याउँकिरी झङ्कृत (हाइकुसङ्ग्रह-२०७४), रानी मौरी (बाल गजलसङ्ग्रह –२०७६), साझा आकाश (कवितासङ्ग्रह-२०७८),  खुर्पे जून (कवितासङ्ग्रह २०८०) गरी विभिन्न विधाका कृति प्रकाशित भइसकेका छन् । ‘आगोको रङ’ उनको सातौँ एक कृति रहेको छ ।  

प्रतिक्रिया दिनुहोस्