छत्रपुर पुगेर सृजना आ.विका विद्यार्थीहरूलाई सम्झनाद्वारा न्यानो कपडा सहयोग


मिक्लाजुङ । मिक्लाजुङ गाउँपालिका–४ छत्रपुरस्थित श्री सृजना आधारभूत विद्यालयका ३० जना विद्यार्थीका लागि यस वर्षको जाडो केही न्यानो बनेको छ । मोरङको उर्लाबारीमा सञ्चारकर्म गर्दै आएकी सञ्चारकर्मी सम्झना राई विद्यालयमै पुगेर न्यानो कपडा वितरण गरेपछि बालबालिकाको अनुहारमा खुसी झल्किएको थियो ।

पर्याप्त कपडाको अभावमा कठ्याङ्ग्रिँदो जाडोमा समेत पातलो सर्टमै विद्यालय आउन बाध्य विद्यार्थीहरू न्यानो कपडा पाउँदा अत्यन्तै हर्षित देखिन्थे । उनीहरूका लागि यो सहयोग केवल कपडा मात्र नभई माया, हौसला र उज्यालो भविष्यप्रतिको आशाको प्रतीक बनेर आएको विद्यालय परिवारले जनाएको छ ।

पहाडको काखमा दुर्गम भौगोलिक अवस्थाबीच रहेको श्री सृजना आधारभूत विद्यालय काठकै काठले बनेका पुराना र जीर्ण कक्षाकोठामा सञ्चालन हुँदै आएको छ । सीमित साधन र सुविधाबीच पनि विद्यार्थीहरू अध्ययन गर्दै आफ्नो भविष्य निर्माण गर्ने सपना देखिरहेका छन् । यस्तो अवस्थाबीच न्यानो कपडासहित विद्यालय पुगेकी सम्झना राईलाई विद्यार्थीहरूले मुस्कान र उत्साहसाथ स्वागत गरेका थिए ।

विद्यालयका प्रधानाध्यापकले टाढाको क्षेत्रसम्म आइपुगी गरिएको सहयोगले विद्यार्थीहरूलाई जाडो मौसममा पनि निरन्तर विद्यालय आउन प्रेरणा मिल्ने बताए । विद्यालय व्यवस्थापन समिति अध्यक्षले समेत सुविधाविहीन र कमै ध्यान पुग्ने यस क्षेत्रमा आएर विद्यार्थीहरूको पक्षमा गरिएको सहयोगप्रति हार्दिक आभार व्यक्त गरे ।

प्रतिक्रिया दिनुहोस्