मोरङ । बेलबारी महोत्सव २०८२ को प्रवर्द्धन गर्ने उद्देश्यले मोरङको बेलबारीमा बेलबारी ५ तथा १० किलोमिटर दौड प्रतियोगिता हुने भएको छ । बेलबारी उद्योग वाणिज्य संघको आयोजनामा हुन लागेको उक्त दौड प्रतियोगिता पुस १८ गते बिहान ६ः३० बजे बेलबारी नगरपालिका–११ स्थित लक्ष्मीमार्ग चोकबाट सुरु हुने जनाइएको छ ।
बेलबारी उद्योग वाणिज्य संघका सचिवालय सदस्य शिव राईका अनुसार प्रतियोगितामा खुला पुरुष दस किलोमिटर, खुला महिला पाँच किलोमिटर तथा ४० देखि ४९ वर्ष उमेर समूहका महिला तथा पुरुषका लागि भेट्रान पाँच किलोमिटर दौड समावेश गरिएको छ । प्रतियोगितामा १६ वर्ष उमेर पूरा गरेका धावक तथा धाविकाले सहभागिता जनाउन सक्नेछन् । विद्यालयका धावक–धाविकाका लागि दर्ता शुल्क तीन सय रुपैयाँ निर्धारण गरिएको छ भने अन्य सहभागीका लागि चार सय रुपैयाँ शुल्क तोकिएको राईले जनाएका छन् ।
दौड प्रतियोगिताका विजेताहरूलाई पदक, प्रमाणपत्र तथा नगद पुरस्कार प्रदान गरिने संघका महासचिव विवेक मिश्रले जनाएका छन् । खुला पुरुषतर्फ प्रथम हुनेले पच्चीस हजार, द्वितीय हुनेले पन्ध्र हजार र तृतीय हुनेले दस हजार रुपैयाँ पुरस्कार प्राप्त गर्नेछन् । खुला महिलातर्फ प्रथमलाई पन्ध्र हजार, द्वितीयलाई दस हजार र तृतीयलाई पाँच हजार रुपैयाँ प्रदान गरिनेछ। भेट्रान महिला तथा पुरुष समूहमा पनि प्रथम, द्वितीय र तृतीय हुनेलाई क्रमशः पन्ध्र हजार, दस हजार र पाँच हजार रुपैयाँ नगद पुरस्कारको व्यवस्था गरिएको मिश्रले बताए ।
बेलबारी उद्योग वाणिज्य संघका कार्यवाहक अध्यक्ष सन्दीप राईका अनुसार सबै सहभागीलाई टिसर्टको व्यवस्था गरिनेछ । दौड सुरु हुनुअघि सहभागीहरूको सामान्य स्वास्थ्य परीक्षण, विशेष गरी रक्तचाप जाँचको व्यवस्था गरिनेछ भने दौडका क्रममा चोटपटक लागेमा प्राथमिक उपचारको सुविधा उपलब्ध गराइनेछ। उमेर घटबढ गरी फाराम भरेको पाइएमा त्यस्ता सहभागीलाई प्रतियोगिताबाट स्वतः निष्कासित गरिने र प्रतियोगितासम्बन्धी कुनै विवाद उत्पन्न भएमा बेलबारी दौड उपसमितिको निर्णय नै अन्तिम हुने स्पष्ट गरिएको छ ।
उपाध्यक्ष केशव थापा मगरका अनुसार बेलबारी महोत्सवको प्रचारप्रसारसँगै स्वस्थ जीवनशैली प्रवर्द्धन गर्ने उद्देश्यले दौड कार्यक्रम आयोजना गर्न लागिएको जनाएको छ । आयोजकले सर्वसाधारण, युवाहरू, खेल प्रेमी तथा स्वास्थ्य सचेत नागरिकलाई उक्त दौड कार्यक्रममा सहभागी भई सफल बनाउन आग्रह गरेको छ ।


